समाज

आत्महत्या रोक्न सकिन्छ

फाइल तस्बिर

कुनै व्यक्तिले आत्महत्या ग-यो कि त हामी आ-आफ्नै तरिकाले अड्कल काट्छौं, यो कारणले हुन सक्छ, त्यो कारणले हुन सक्छ भनेर। तर गम्भीर मनोरोग तथा मनमा उत्पन्न समस्यालाई व्यवस्थापन गर्न नसक्दा आत्महत्याको बाटो रोज्ने गरेको विशेषज्ञले औंल्याएका छन्। ‘केही आत्महत्या आवेग या पीडाको चरणमा हुन्छ, धेरैजसो आत्महत्याको बाटो रोज्ने मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्या हुने गर्छ,’ मानसिक रोग अस्पताल, पाटनका मानसिक रोग चिकित्सक डा. वासुदेव कार्कीले भने।

रिदम न्युरोसाइक्याट्रिक अस्पतालका निर्देशक डा. रितेश थापा भन्छन्, ‘मानिसको जीवनमा संकट सबैलाई आउँछ तर यसलाई सही व्यवस्थापन गर्न नसक्ने मानिसले आत्महत्याको बाटो रोज्ने गरेको देखिन्छ।’ चिकित्सकका अनुसार विभिन्न कारणले व्यक्ति आत्महत्याको अवस्थामा पुग्छ।

मुख्य कारण मानसिक रोग नै हो। ‘आत्महत्या गर्ने ९० प्रतिशत मानसिक रोगी भएको अनुसन्धानले देखाएको छ,’ इपिडिमियोलोजी तथा नसर्ने रोग नियन्त्रण, मानसिक स्वास्थ्य शाखाका प्रमुख डा. फणिन्द्र बरालले भने। मानसिक  रोगमध्ये पनि सबैभन्दा बढी चरम निराश हुनु रहेको डा. बराल बताउँछन्। यसका साथै युद्ध, हिंसा, आघातजन्य घटना, लाञ्छना र भेदभाव अनुभव गरिरहेका व्यक्तिमा पनि आत्महत्याको सम्भावना बढी हुन्छ।

मानसिक  रोगमध्ये सबैभन्दा बढी चरम निराश हुनु हो भने युद्ध, हिंसा, आघातजन्य घटना, लाञ्छना र भेदभाव अनुभव गरिरहेका व्यक्तिमा पनि आत्महत्याको सम्भावना बढी हुन्छ।

चिकित्सकका अनुसार धेरैजसो आत्महत्या विभिन्न मनोसामाजिक रोगका कारण हुने र केही आत्महत्या व्यक्तिको भिन्न मनोबल तथा धैर्य गर्ने क्षमता कम भएकाले हुन्छन्। आत्महत्याको अवस्थासम्म पु¥याउने कारणको खोजी समयमै गर्नसके बढी मात्रामा आत्महत्या रोक्न सकिने विशेषज्ञ सुझाउँछन्। ‘समस्याको समयमै पहिचान गरेर उपचार गरेमा धेरै आत्महत्या रोक्न सकिन्छ,’ मानसिक रोग अस्पतालका मानसिक रोग विशेषज्ञ डा. अनन्तराज अधिकारीले भने।

आत्महत्या सोचिरहेको व्यक्तिले आत्महत्या गर्नु घटनासित सम्बन्धित कुनै न कुनै कुरा बोल्ने या संकेत गर्ने भएकाले यस्तो सोच आइरहेको व्यक्तिलाई उपचारमा पु-याउने तथा स्वयं व्यक्तिले विशेषज्ञ वा चिकित्सकलाई भेट्नेजस्ता उपाय निकाल्न सक्छन्। आत्महत्याका लागि अनुकूल हुने हतियार, विषादी, झुन्डिन मिल्ने ठाउँ हटाउने र परिवारका सदस्यले सकेसम्म छिटो मानसिक रोग विशेषज्ञकोमा पु¥याएमा ९०  प्रतिशत आत्महत्या रोकथाम गर्न सकिने चिकित्सहरूले सुझाएका छन्।

आत्महत्या गर्ने व्यक्तिका लक्षण
चरम निराशा, मूल्यहीन सोच प्रकट, आफैं मर्छु भनी धम्की दिने, ‘म गएपछि कसैले पनि मलाई याद गर्दैनन्’ भन्ने, मर्ने माध्यमहरू खोज्ने– जस्तै कीटनाशक औषधि, हातहतियार खोज्नेआदि। त्यस्तै औषधि या आफ्नो ज्यान लिने माध्यमका लागि इन्टरनेटमा खोज्ने, परिवार तथा इष्टमित्रलाई बिदाइ गर्ने, आफ्नो सम्पत्ति बाँडीदिने, आफ्नो अन्तिम इच्छापत्र लेख्नेआदि आत्महत्या गर्ने मानिसका लक्षण हुन्।

आत्महत्याको जोखिममा को को ?
जसले पहिला पनि आत्महत्याको प्रयास गरिसकेको छ, जाँडरक्सी तथा लागुपदार्थको समस्या भएका, डिपे्रसनमा परेका, भावनात्मक रूपमा विचलित भएका, समाजबाट बहिष्कृत, एक्लो जीवन बाँचिरहेका तथा वैवाहिक जीवनमा तनावयुक्त भएका, जीवनदेखि आत्मविश्वास गुमाएका, कुनै प्रकारका कडा मानसिक रोग भएका व्यक्तिहरू आत्महत्याको जोखिममा हुने मनोचिकित्सकहरू बताउँछन्।

आत्महत्या रोक्ने उपाय
मनोचिकित्सक तथा मनोपरामर्शकर्ताको सहयोग लिन व्यक्तिलाई प्रोत्साहन गर्ने, आत्महत्याको उच्च जोखिममा रहेका व्यक्तिलाई एक्लै नछोड्ने, कुनै विशेष हेल्पलाइन, आपत्कालीन सेवामा सम्पर्क गर्ने, त्यस्ता व्यक्तिको परिवारको सहयोग लिने, आत्महत्याका लागि हानि पु¥याउने सामग्री हातहतियार, कीटनाशक औषधि त्यस्ता व्यक्तिबाट टाढा राख्ने, जोखिममा रहेको व्यक्तिसित नियमित सम्पर्कमा रहने र उसले के गर्दै छ भन्नेबारे जानकारी लिने।

नेपालमा आत्महत्याको दर बढी  
कार्यक्रममार्फत विशेषज्ञहरूले नेपालमा आत्महत्याको दर पछिल्लो दशकमा बढ्दै गएको भन्दै स्थानीय तहमै मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम विषयमा जनचेतना जगाउन आवश्यक भएको जनाएका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार पाँच वर्षको अवधिमा आत्महत्या दर वृद्धि भएको छ। आर्थिक वर्ष २०७/७१ मा ४ हजार ५ सय ४ जनाले आत्महत्या भएको तथ्यांक छ। यो संख्या गत आवमा ५ हजार ३ सय १७ जना पुगेको छ। यो हिसाबले पाँच वर्षपछि ८ सय १३ जना वृद्धि भएको देखिन्छ।

विश्व स्वास्थ्य संगठनको सन् २०१७ को तथ्यांकअनुसार नेपालमा प्रतिलाखमा ७ दशमलव २ जनाले आत्महत्या गर्छन्। विश्वभर आत्महत्या गर्नेमा साताैं नम्बरमा नेपाल पर्छ। प्रहरीको तथ्यांकअनुसार बितेको १० वर्षको अवधि अर्थात् २०६१/६२  देखि २०७१/७२ को अवधिमा २९ हजार ९ सय ५ जनाले आत्महत्या गरेका छन्। नेपालमा एक दिनमा १४ देखि १६ जनाको मृत्यु आत्महत्याको कारण हुने गरेको छ।

आत्महत्या रोक्न २४सै घण्टा हेल्पलाइन सेवा
काठमाडौं, भदौ २७ (नागरिक)– कुनै पनि व्यक्तिले मानसिक, व्यावहारिक या अन्य शारीरिक रोगका कारण आत्महत्याको बाटो रोज्न खोज्छ। आत्महत्याको सोच आउने बेलामा ‘उनीहरूमा जीवन बेकार छ, अब बाँच्ने कुनै आधार छैन’ जस्ता सोचमा मनमा घरि–घरि आउँछ। यस्तो सोचलाई रोक्न मनो–चिकित्सकको आवश्यकता पर्छ। जीवनका कुनै क्षणमा यस्ता नकारात्मक सोच आए सिधै निःशुल्क उपलब्ध रहेको १६६००१२२२२३ नम्बरमा फोन गर्न सकिन्छ। जहाँ समस्याको समाधान दिने विशेषज्ञ तथा विज्ञ २४सै घण्टा उपलब्ध हुन्छन्।

मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम केन्द्रले मंगलबार एक हेल्पलाइन सेवा सार्वजनिक गरेको छ। केन्द्रले विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सो हेल्पलाइन सेवा सुरु गरेको हो। यस्तो सोच आएका व्यक्तिले उपलब्ध सो नम्बरमा फोन गर्न सकिने बताएको छ। यो नम्बरमा फोन गरेबापत कुनै पनि शुल्क लाग्ने छैन। हालका लागि यो सेवा नेपाल टेलिकमको नम्बर प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ र निकट भविष्यमै एनसेल प्रयोगकर्ताका लागि पनि फोन गर्न मिल्ने सुविधा हुनेछ। आत्महत्या रोकथामकै लागि भनेर हेल्पलाइन सेवा यो पहिलो हो।

प्रकाशित: २८ भाद्र २०७६ ०२:०९ शनिबार

आत्महत्या मानसिक_रोग