समाज

एन्टिबायोटिक्स प्रभावहीन बन्दै गएकोमा चिन्ता

काठमाडौं - पछिल्लो समय रोगबाट संक्रमति व्यक्तिलाई खुवाउने एन्टिबायोटिक्सको कार्यक्षमता घट्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। बिहीबार काठमाडौंमा सुरु भएको क्लिनिकल माइक्रोबायोलोजीसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्दै विज्ञहरूले एन्टिबायोटिक्सले भविष्यमा काम नगर्ने अवस्था आउन सक्ने सम्भावना औंल्याए।

नेप्लिज एसोसिएसन अफ क्लिनिकल माइक्रोबायोलोजिस्ट (एनएसिएम) को आयोजनामा भएको सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले एन्टिबायोटिक्सको सही प्रयोगमा माइक्रोबाइलोजिस्टहरूको भूमिका महŒवपूर्ण हुने बताए। उनले नेपाल औषधि विभागले एन्टिबायोटिक्सलगायत औषधिको प्रयोगका विषयमा आवश्यक काम नगरेको उल्लेख गर्दै यसको प्रभावकारी अनुगमनका लागि मन्त्रालयमै छुट्टै महाशाखा स्थापना गर्न लागिएको जानकारी दिए। ‘अहिलेको औषधि व्यवस्था विभाग निकम्मा देखिएको छ। मन्त्रालयले त्यसको विकल्पमा मन्त्रालयमा नै आवश्यकता र विषयअनुसारका महाशाखाको व्यवस्था गर्ने तयारी गरिरहेको छ,’ उनले भने, ‘अबको केही समयमा मन्त्रालयले विभागको पुनःसंरचना गरेर शक्तिशाली महाशाखा गठन गर्नेछ।’

सरकार प्रत्येक स्थानीय तहमा एउटा ल्याब खोल्ने तयारीमा रहेको पनि राज्यमन्त्री यादवले जानकारी दिए। पिसिएल गरेको मान्छेले मास्टर्स डिग्रीसरहको पदीय हैसियत पाइरहेको भन्दै उनले यसलाई बदल्न आवश्यक रहेको बताए। माइक्रोबाइलोजिस्टहरूलाई सातौं तहमा भर्ना गरेर सेवा लिन दरबन्दी सिर्जना गर्ने प्रक्रियामा आफूहरू रहेको राज्यमन्त्री चौधरीको भनाइ छ। नेपाल चिकित्सक संघ (एनएमए) का महासचिव डा. लोचन कार्कीले एन्टिबायोटिक्सको कार्यक्षमता घट्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले सन्तानका लागि सम्पत्ति नभई एन्टिबायोटिक्स जोगाउन सुझाव दिए। ‘संसारभरि नै एन्टिबायोटिक्सको प्रभाव घट्दै गएको अनुसन्धानबाट खुलेको छ, यही अवस्था रहने हो भने एन्टिबायोक्सिले काम नै नगर्ने हुन सक्छ,’ उनले भने, ‘त्यसैले यसको विषयमा अनुसन्धान हुनु जरुरी छ।’

मानिसले खानपिनमा ध्यान नदिँदा एन्टिबायोटिक्सभन्दा ब्याटेरिया बलियो बन्दै गएको उनको भनाइ छ। लाइसेन्स नै नभएकाहरूले फार्मेसी चलाउने र जथाभाबी एन्टिबायोटिक्स सेवन गर्नाले एन्टिबायोटिक्सलाई ब्याटोरियाले सहजै पचाउने देखिएको डा. कार्कीले जनाए। यसको नियमित र प्रभावकारी अनुगमन गर्न उनले सरकारलाई सुझाव दिए। नेपाल चिकित्सक संघले माइक्रोबाइलोजिस्ट र सरकारसँग मिलेर एन्टिबायोटिक्सको प्रयोगमा सचेतना फैलाउने तयारी गरिरहेको उनले जानकारी दिए। यसका लागि सरकार र एनएसिएमसँग मिलेर आफूहरू काम गर्न तयार रहेको उनको भनाइ छ।

उनले म्यान, माइक्रोब्स र मेसिनले एकसाथ काम गर्ने भएकाले क्लिनिकल माइक्रोबाइलोजीको महŒव बढ्दै गएको दाबी गरे। ‘माइक्रोबायोलोजीले सबैलाई मार्गदर्शन गर्ने भएकाले यसको महत्व र आवश्यकता आजका दिनमा अझै बढेको छ,’ डा. कार्कीले भने। नेपाल मेडिकल काउन्सिलका कार्यवाहक अध्यक्ष नारायणविक्रम थापाले पनि क्लिनिकल माइक्रोबायोलोजी आजको सन्दर्भमा अपरिहार्य विषय भएको बताए। क्लिनिकल माइक्रोबाइलोजिस्टको संख्या अझै बढ्नुपर्ने आवश्यकता रहेको औल्याउँदै आगामी दिनमा राज्यले पनि यसका ध्यान दिन सक्नुपर्ने उनको भनाइ छ।

एनएसिएमका अध्यक्ष प्राध्यापक डा. बालमानसिंह कार्कीले विश्वव्यापी रूपमा बढ्दो सरुवा रोग र त्यसका कारक तत्वका रूपमा सूक्ष्म जीवाणुहरूको प्रकोपको न्यूनीकरण, प्रयोगशाला प्रविधि तथा चिकित्सा विज्ञानको विषयमा एक ठाउँमा बसेर छलफल गर्न नेपालमा पहिलोपटक क्लिनिकल माइक्रोबायोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको स्पष्ट पारे। विशेषज्ञ चिकित्सक (क्लिनिकल माइक्रोबायोलोजिस्ट) को प्रयोगशालामा रोगको पहिचानमा मात्र नभई संक्रामक रोगहरूको व्यवस्थापन र निदानमा पनि अत्यन्तै महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ।

‘बिरामीहरूलाई दिइने एन्टिबायोटिक्स उपयुक्त भए÷नभएको, किटाणुसँग जुध्न सक्षम हुने÷नहुने र कुन समयमा कसरी एन्टिबायोटिक्सको प्रयोग थपघट गर्नेजस्ता गहन तथा अत्यावश्यक जानकारी बिरामीको उपचारमा संलग्न आफ्ना सहकर्मीहरूलाई उपलब्ध गराउने जिम्मेवारीसमेत क्लिनिकल माइक्रोबायोलोजिस्टको रहन्छ,’ प्राध्यापक डा. कार्कीले भने, ‘सम्मेलनले यसलाई नयाँ ढंगले प्रस्तुत गर्न मद्दत गर्छ।’ सर्ने रोगहरूको नियन्त्रण तथा रोकथाम, जनस्वास्थ्यसित सम्बन्धित संक्रामक रोगको प्रकोपको तत्काल पहिचान तथा रोकथाममा माइक्रोबाइलोजिस्टको भूमिका निकै महत्वपूर्ण हुने उनको भनाइ छ।

विश्वमा भएका स्वास्थ्यसम्बन्धी, विशेषगरी सूक्ष्म जीवाणु र संक्रमणबारे नयाँ खोज, अनुभवलाई सम्बन्धित सबैमा बोध गराउने, आजको परिस्थितिका आधारमा भोलिको अवस्था के हुन्छ भनेर निचोड निकालिने सम्मेलनमा सहभागी वक्ताहरूको भनाइ छ। सम्मेलनमा नेपाल, भारत, लेबनान, संयुक्त अधिराज्य र थाइल्यान्डलगायत देशका विज्ञहरूसहित करिब दुई सयजनाको सहभागिता छ।

प्रकाशित: २७ भाद्र २०७६ ०२:१९ शुक्रबार

एन्टिबायोटिक्स संक्रमतित