समाज

डोजरमा आगजनी

गलेश्वर – म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ।

निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो। बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले जानकारी दिए। उनले निष्पक्ष छानविनको मागसमेत गरेका छन्।

आगलागीबाट तीनवटै जेसिभी जलेर नष्ट भएका छन्। घटनास्थलमा प्रहरीको टोली पुगेको छ। पटक–पटक अज्ञात समूहले धम्की दिने गरेको भए पनि आगलागी कसले गरेको हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन। विगतमा समेत जिसीका विभिन्न निर्माण उपकरणमा आक्रमण हुने गरेको थियो। जिल्ला प्रहरी कार्यालय म्याग्दीले आगजनी गर्नेको खोजी भइरहेको जनाएको छ। घटना गएराति १२ बजेतिर भएको हुनसक्ने अनुमान गरिएको छ।(रासस)

प्रकाशित: २६ भाद्र २०७६ ०३:१७ बिहीबार

डोजर अज्ञात_समूह आगजनी