समाज

विप्लवका छोरा चन्द कलेजबाटै पक्राउ

चितवन - सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनी चितवन मेडिकल कलेजबाट पक्राउ परेको हुन्।

पक्राउ पर्नेमा चन्दसहित करिब १५ जना विद्यार्थी रहेका छन् । चितवन मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको विरोधमा कलेजमा अध्ययनरत विद्यार्थीले दिनहुँ आन्दोलन गरिरहेका छन् । आन्दोलनरत विद्यार्थी र प्रहरीविच झडप हुँदा बुधबार बिहान प्रहरीले विद्यार्थीलाई नियन्त्रणमा लिएको हो ।

कलेजको गेट अगाडी प्रदर्शन गरिरहेका विद्यार्थी कलेजभित्र छिर्न खोजेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । अस्पतालभित्रै प्रवेश गरी सेवा गर्न र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको उनी बताउँछन् । कलेजमा अध्ययनरत प्रकाशले आन्दोलनको अगुवाइ गर्दै आएका छन् ।

यसअघि भदौँ ५ गते रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा संघर्ष समिति बनाएर चन्दले आन्दोलन गर्ने चेतावनी दिएका थिए।

पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका तमाम समस्याका बारेमा आफूहरुले आन्दोलन गर्ने चिकित्सा शिक्षा संघर्ष समितिलका अध्यक्षसमेत रहेका चन्दले पत्रकार सम्मेलनमा बताए थिए।

नेपालको संविधानले शिक्षा र स्वास्थ्यको बिषयलाई नागरिकको मौलिक हकका रूपमा किटान गरिसकेको अवस्थामा शिक्षा र स्वास्थ्य दुवै क्षेत्रलाई अहिले दलाल, माफिया र भ्रष्टहरुले निजीकरण गर्दै लुट मच्चाएर व्यापारको साधनका रूपमा प्रयोग गरिरहेको चन्दको आरोप छ। संविधानले ग्यारेन्टी गरेको आम नागरिकको मौलिक अधिकारीमाथि माफीया र दलालहरुले दास मानसिकताको व्यवहारमा गरिरहेका र त्यो निन्दनीय भएको उनको भनाइ छ।

प्रकाशित: २५ भाद्र २०७६ ०५:०० बुधबार

नेपाल_कम्युनिष्ट_पार्टी विप्लव प्रकाश_चन्द