समाज

लाेडेड पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर – भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ भातेढिकुरमा एकजना कटुवा पेस्तोलसहित पक्राउ परेका छन्। सोमबार राति शंकास्पद रुपमा हिँडिरहेका बारा फेटा गाबिस वडा नम्बर २ घर भई हाल फेटा गाँउपालिका ३ बस्ने ४१ वर्षीय शम्भुप्रसाद शाह कानुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनको झोला तथा शरीर खानतलासीका क्रममा कम्मरमा लुकाईछिपाई राखिएको अवस्थामा एक राउण्ड गोली चेम्बरमा लोड गरिएको अवस्थामा रहेको कटुवा पेस्तोल थान १ र त्यसमा लाग्ने गोली थान ५ झोलामा राखेको अवस्थामा फेला पारिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी नायव उपरीक्षक चक्रराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ। निजलाई पक्राउ गरी हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: २५ भाद्र २०७६ ०३:०८ बुधबार

सूर्यविनायक_नगरपालिका पेस्तोल पक्राउ