समाज

आफ्नै पौरखमा सरकारी विद्यालय

बालकल्याण नमुना मावि लिवाङ । तस्बिरः नागरिक

रोल्पा– जिल्लाका केहि विद्यालयले पठनपाठनमा सुधार ल्याउन थालेपछि निजी विद्यालय छाडेर सरकारीमा जाने विद्यार्थीको संख्या बढ्न थालेको छ। विद्यालयहरुले आफ्नो बलबुताले भ्याएसम्म राम्रो गर्ने प्रयास गरेका कारण यसो भएको हो। स्थानीय सरकारले शैक्षिक सुधारका लागि खासै पहल नगरे पनि केहि विद्यालय भने शिक्षा सुधारमा लागेका हुन्। सुधारसँगै सदरमुकामभित्र रहेको बालकल्याण नमुना माध्यमिक विद्यालय, रोल्पा नगरपालिकाको कोटगाउँमा रहेको नेपाल मावि र वीर बलभद्र माध्यमिक थवाङलाई विद्यार्थी धानिनसक्नु भएको छ।

यो वर्ष मात्रै पनि बालकल्याण नमुना माध्यमिक विद्यालयमा करिब ५ दर्जन विद्यार्थी निजी विद्यालय छोडेर भर्ना हुन आएका थिए। कक्षा १० सम्म १६ सय विद्यार्थी रहेको यहाँ विद्यार्थीहरु गतिलो शिक्षाको खोजिमा आउने गर्दछन। ‘हाम्रो विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै जाँदा विद्यार्थीको संख्या पनि बढेको हो।’ बालकल्याण नमुना माविका प्रअ मधुसुदन पोख्रेलले भने ‘विद्यार्थी अभिभावकले अंग्रेजी माध्यम खोज्छन् त्यसैले केहि वर्ष यता हामिले सुरु गरेका छौ। एसइईको नतिजा सुधार हुँदै जाँदा पनि विद्यार्थीको चाप बढेको हो।’

अभावका बिचमा विद्यालयको अबस्था सुधार गरेको नेपाल मावि कोटगाउँका प्रअ कृष्ण पुन शिक्षक र अभिभावकले चाहेमा शैक्षिक अवस्था राम्रो गराउन सकिने बताउँछन। ‘शिक्षक, ब्यवस्थापन समिति र अभिभाबकले पहल गरेका कारण नै हामिले सफलता पाएका हौं। हामिले यति गरिरहँदा सरकारले केहि सहयोग गरिदिने हो भने खोजे जस्तो नतिजा पनि दिन सक्छौ।’

रोल्पामा शिक्षा क्षेत्रमा काम गरिरहेको सेभ द चिल्ड्रेनको तथ्याङ अनुसार उसको कार्य क्षेत्रका १९ वटा वडामा २ सय ७६ जना निजि विद्यालयबाट सरकारी विद्यालयमा आएका छन्। ‘हाम्रो सामान्य सहयोगले पनि सरकारी बिद्यालयको शैक्षिक स्तरमा सुधार आएको देखिएको छ।’ सेभ द चिल्ड्रेनका दिलकमल क्षेत्री भन्छन ‘शिक्षक र विद्यालय ब्यवस्थापन समिति र अभिभावक सुधार गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्छ तर विभिन्न समस्याका कारण उहाँहरुले सोचे जस्तो भएको छैन्।’
गएको एसईमा गतिलो नतिजा ल्याएका बीर बलभद्र मावि थवाङ, बालकल्याण नमुना माध्यमिक विद्यालय लिवाङ, नेपाल मावि कोटगाउँमा जस्ता विद्यालय केन्द्र, प्रदेश र स्थानीय सरकारको सहयोगबिना पनि सुधारको बाटोमा छन्। तर यस वर्ष पनि स्थानीय तहहरुले शिक्षा क्षेत्रका सुधारका लागि न्युन बजेट छुटएकोमा उनिहरु असन्तुष्ट छन।

यहाँका विद्यालयहरुमा न दरबन्दी प्रयाप्त छ न त आर्थिक सम्पन्ता छ। गाउँ छेउमा आएको भनिएको स्थानीय सरकारले पनि शिक्षा सुधारमा चासो नदिएपछि शिक्षामा चासो राख्नेहरु असन्तुष्ट भएका हुन्। ‘कुनै पनि स्थानीय तहले शिक्षाको क्षेत्रमा एकदमै न्युन बजेट छुट्याएका छन्। यो प्रयाप्त होईन। यस्तो तरिकाले परिणाम आउदैन्।’ बालकल्याण नमुना माविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष महेश न्यौपाने भन्छन् ‘कुनै जनप्रतिनिधिलाई शिक्षा सुधारमा चासो भएको देखिदैन्।’

आज पनि रोल्पामा ६० प्रतिशत बढि शिक्षक दरबन्दी अपुग छ। समुदायले पैसा उठाएर शिक्षकलाई तलब खुवाउने गर्दछन्। राज्यले मौलिक हकका रुपमा लिएको शिक्षा निशुल्क भनिए पनि रोल्पामा भने सशुल्क भईरहेको छ। त्यसो त रोल्पामा शिक्षा सुधारका लागि भनेर खोलिएका शिक्षक संगठन र विद्यार्थी संगठनका नेतृत्वले समेत कुनै चासो नदिएको गुनासो पनि व्यापक रहेको छ। स्थानीय सरकारले निति तथा कार्यक्रम निर्माण गर्ने समयमा शिक्षामा बजेट छुट्याउनुपर्छ भनेर वकालत गर्न कोहि जाने गरेका छैनन्।

प्रकाशित: २३ भाद्र २०७६ ०८:४४ सोमबार

सरकारी नीजि विद्यालय