समाज

नीतिगत सुधारमा अलमल

काठमाडौ - पूर्णचन्द्र थापाले नेपाली सेनाको प्रमुख (प्रधानसेनापति) को जिम्मेवारी सम्हालेको एक वर्ष पूरा भएको छ। गत वर्ष भदौ २४ गतेबाट औपचारिक रूपमा प्रधानसेनापछिको जिम्मेवारी सम्हालेका उनले पहिलो सम्बोधनमै सेनाको सांगठानिक र आचरण सुधार गनबद्धता जनाएका थिए। सामान्यतया नेपाली सेनाभित्र भ्रष्टाचार, आफन्तवाद, भनसुनजस्ता विषय जटिल बन्दै गइरहेका बेला नेतृत्व सम्हालेका उनले सुधारको प्रतिबद्धता जनाए पनि कार्यान्वयन हुनेमा आशंका गरिएको थियो।

उनले गत वर्ष दसैंका बेला आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सेनामाथि लाग्ने गरेको भनसुन, निकटता र आफन्तवादको अन्त्य गरी प्रणालीमा आधारित नीतिसहितको सांगठनिक वातावरण सिर्जना गर्ने र सेनाभित्र हुने भ्रष्टाचार नियन्त्रण र पारदर्शितालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

थापाले प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा केही महत्वपूर्ण सुधार गरेका छन्। उनले सेनाको जिम्मेवारी सम्हालेलगत्तै आर्मी अफिसर्स क्लब गैरसैनिकलाई पार्टी प्यालेसका रूपमा प्रयोग गर्न रोक लगाएका थिए। उनले गत कात्तिक २७ गते पहिलोपटक सैनिक आचरण, संस्थाको अपेक्षा र जिम्मेवारीका विषयमा नेतृत्व संवाद कार्यक्रम सुरु गरेका थिए।

सैनिक आचरणमा सकारात्मक सुधार ल्याउने उद्देश्यले सञ्चालित उक्त कार्यक्रममा उपहार लिने–दिने प्रचलन, आर्थिक अनियमितता (भ्रष्टाचार) र भनसुन गरी तीनवटा शीर्षकमा छलफल गरिएको थियो। यस किसिमको संवादले नेपाली सेनाका विभिन्न तहका नेतृत्व वर्ग र अधिकृतहरूमा ऐन, नियम, आदेश, निर्देशन तथा सैनिक आचारसंहिताबारे सचेतना फैलाउन मद्दत पुगेको बताइन्छ। यसले नेपाली सेनामा पनि नेपालले अनुमोदन गरिसकेको भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनसम्बन्धी कार्ययोजना २०६९ कार्यान्वयनमा सहयोग पुग्ने जनाइएको छ।

थापाले नेपाली सेनाको नेतृत्व सम्हालेयता सैनिक ऐनविपरीत काम गर्ने एक हजार एक सय १७ जना सैनिकलाई कारबाही गरिएको छ। त्यसमध्ये उनले नेतृत्व सम्हालेलगत्तै भर्ना प्रक्रियामा अनियमितता गर्ने अधिकृतसहितका एक सय ८० जना सैनिकमाथि कोर्ट–मार्सल लगाइएको थियो। हाल सेनाले नक्कली प्रमाणपत्र पेस गर्ने दुईजना सहायक रथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारबाहीको तयारी गरिरहेको छ। सेनाले उपरथी दर्जामा पदोन्नति हुनका लागि भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने दुईजना सहायक रथीसहित साधारण, विविध र प्राविधिक सेवातर्फका तीन दर्जन अधिकारीमाथि छानबिनपश्चात कारबाही तयारी भइरहेको छ।

सैनिक अदालतले नागरिकतामा जन्ममिति सच्याई सेवा अवधिभन्दा बढी सेवामा रहेका प्रमुख सेनानी (कर्नेल) जीवन थापालाई बढी सेवाबापतको बिगो तिराई बर्खास्त गरेको थियो। सेनाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा एक वर्षको अवधिमा ११ जना सैनिकलाई कारबाही गरेको छ। त्यस्तै एक सय ७५ जनाको बढुवा रोकिएको छ भने ४९ जनाको दर्जा घटुवा गरिएको छ। एक सय एकजनाको तलब–भत्ता रोकिएको छ, दुई सय सातजनालाई राजश्व दाखिला गरिएको सेनाले जनाएको छ।

प्रधानसेनापतिमा नियुक्त भएलगत्तै थापाले नेपाली सेनालाई सबल र सक्षम बनाउने उद्देश्यले ‘नेपाल आर्मी भिजन २०३०’ अघि बढाएका छन्। सो योजनाअन्तर्गत सेनामा लडाइँ लड्ने क्षमता विकास, फायर पावर, मोबिलिटी, इन्टेलिजेन्स, सञ्चार प्राणाली, कम्ब्याक्ट इन्जिनियरिङ र विशेष फौजको क्षमता अभिवृद्धिजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ।

प्रधानसेनापति थापाले गुनासो सुन्ने विभिन्न संयन्त्रको विकास गरेका छन्, जसअन्तर्गत नेतृत्व संवाद, सिपाहीसँग प्रधानसेनापति, गुनासो पेटिका, सिकायत जाँच निर्देशनालयलगायत संयन्त्रमार्फत सकल दर्जाका गुनासा सुन्ने संयन्त्रको विकास गरिएको छ। यसलाई संगठनभित्र महŒवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

थापाले नेतृत्व सम्हालेपछि सैनिक ऐनलाई पुनरावलोकन तथा सरुवा, नियुक्ति र वृत्ति विकासको मापदण्ड बनाएका छन्। यसले सेनाभित्र वृत्तिविकास, शान्ति सेनामा जाने, भनसुन गर्ने, दबाब दिने तथा व्यक्तिगत लाभका लागि काम गर्ने प्रवृत्तिमा सुधार आउने अपेक्षा गरिएको छ। सेनाले पछिल्लो समय बहुप्रतिष्ठित काठमाडौं–तराई द्रूतमार्ग निर्माणको अनुगमनका लागि सैनिक गुप्तचर खटाउनेदेखि विगतमा उक्त आयोजनामा भएको खर्च रकमका बारेमा पनि छानबिन गर्ने तयारी गरेको छ। प्रधानसेनापतिले जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा भएका प्रयासले विगतमा आचरणका हिसाबले विवादित हुँदै गएको सैनिक संगठनमा सुधारको संकेत गरेको छ।

प्रधानसेनापति थापाले सांगठनिक सुधारमा सकारात्मक प्रयास गरे पनि नीतिगत तहमा भने अझै मूल्यांकन गर्न सक्ने गरी नतिजा देखिएको छैन। रक्षा मामिलाका जानकार डा. उमेश भट्टराई प्रधानसेनापति थापाले सांगठनिक क्षेत्रको विकास र सुधारमा उत्कृष्ट प्रयास भए पनि नीतिगत रूपमा अझै हेर्न बाँकी रहेको बताउँछन्। ‘उहाँले संगठन तथा सैनिकहरूको हकहित एवं आचरण सुधारका लागि गरेको कार्य प्रशंसनीय नै छ,’ उनले भने, ‘नीतिगत रूपमा भने अझै पनि पर्ख र हेर कै अवस्था छ।’

राष्ट्रिय सुरक्षा तथा नीतिगत सुधारका क्षेत्रमा अहिले नै अनुमान गर्नु हतार हुने भट्टराईको तर्क छ। नेपालको राष्ट्रिय सुरक्षाको अवस्था भद्रगोल अवस्थामा रहेकाले त्यसतर्फ नीतिगत रूपमा महŒवपूर्ण निर्णय गर्नुपर्ने भट्टराई बताउँछन्। तर यो काम सेनाको एक्लो प्रयासले मात्र नभई रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र अन्य सुरक्षा निकायको पनि महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ।

छिमेकी मुलुक चीन, भारत र अमेरिकी स्वार्थसमेत नेपालमा देखिने हुँदा सबैलाई सन्तुलनमा राखेर अघि बढ्नुपर्ने जिम्मेवारी थापाको काँधमा रहेको भट्टराई बताउँछन्। त्यसलाई उनले कसरी सन्तुलित ढंगले व्यवस्थापन गर्छन् भन्ने कुराले पनि उनले नीतिगत ढंगले कसरी काम गर्छन् भन्ने कुरालाई देखाउने उनको तर्क छ।

प्रकाशित: २३ भाद्र २०७६ ०२:१४ सोमबार

प्रधानसेनापति नीतिगत_सुधार अलमल