समाज

दुधकोसी जलविद्युत आयोजनाः एक हजार एक सय ५० घर परिवार प्रभावित हुने

खोटाङ– ६३५ मेगावाट क्षमताको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाबाट एक हजार एक सय ५० घर परिवार प्रभावित हुने देखिएको छ। खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाबाट १६२ घर पूर्ण र ९८८ घर आंशिक प्रभावित हुने देखिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

सामाजिक तथा वातावरणीय अध्ययन अन्तरगत जलविद्युत आयोजना लागि तयार पारिएको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिबेदनका विषयमा निर्माणस्थलमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा ठूलो क्षमताको आयोजना भए पनि दुधकोसीबाट विस्थापित हुने घरधुरी संख्या तुलनात्मकरुपमा कम रहेको जानकारी दिइएको छ।

हाल दुधकोसी जलाशययुक्त जलबिद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन भैरहेको अवस्थामा प्राधिकरणले वातावरण संरक्षण ऐन २०५३ तथा वातावरण संरक्षण नियमावली २०५४ अनुसार आयोजना कार्यान्वयन हुने स्थानमा सार्वजनिक सुनुवाई गरेर प्रभावित नगरपालिका÷गाउँपालिका, वडा, विद्यालय, स्वास्थ्यचौकी, वन उपभोक्ता समुह, संघसंस्था, स्थानीयलगायतको उपस्थितिमा आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन अध्ययन प्रतिबेदनका विषयमा आवश्यक राय–सुझाव संकलन गरेको छ। दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाले बिहिबार हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा र शुक्रबार रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुवामा सार्वजनिक सुनुवाई गरेको छ। आयोजनाको डिपिआरकै काम पूरा गर्नेक्रममा निर्माणस्थलमा प्रभावित क्षेत्रका स्थानीयबाट राय–सुझाव लिइएको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका प्रोजेक्ट मेनेजर बशन्तध्वज श्रेष्ठले बताए। वातावरणीय प्रभाव मूल्यांकन प्रतिबेदनका विषयमा  शनिबार दिक्तेलमा पनि सार्वजनिक सुनुवाई गरिएको छ। आउँदो सोमबार ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–१ कुइभीरमा सार्वजनिक सुनुवाई राखिएको जनाइएको छ। 

१९.८ वर्ग किलोमिटर क्षेत्रमा फैलिने आयोजनाको जलाशयले खोटाङको रावाबेँसी गाउँपालिकाका छ वडा, हलेसी तुवाचुङ नगरपालिकाका पाँच वडा, ऐसेलुखर्क गाउँपालिकाका तीन वडा, ओखलढुंगा चिसंखुगढी गाउँपालिकाका पाँच वडा, सोलुखुम्बुको दुधकौशिका गाउँपालिकाका दुई र नेचासल्यान गाउँपालिकाका एक वडामा प्रभाव पर्ने देखिएको छ। आयोजनाका लागि ड्याम बनाउँदा दुधकोसीमा १७ किलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर जलाशय सिर्जना हुने आयोजनाले जनाएको छ। रभुवामा भएको कार्यक्रममा खोटाङका प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई र ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले आयोजनाको कामलाई सफल र पूर्ण बनाउनका लागि सहयोग गर्न स्थानीयलाई आग्रह गरे। ‘आयोजनालाई सहयोग गर्नुपर्छ, सफल बनाउनु पर्छ। सघाउनु पर्छ। पहिलो शर्त यही हो,’ भट्टराईले भने, ‘त्यसपछि प्रभावका विषयमा कुरा गरौंला, अधिकारका कुरा गरौंला । भए÷नभएको माग राखेर आयोजनालाई अशर पुग्ने गतिविधि कसैले नगरौं।’

मुख्य विद्युतगृहबाट ६०० र ड्याम टो विद्युतगृहबाट ३५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ काम भइरहेको दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको डिपिआरको काम अन्तिम चरणमा पुगेको छ। ३० महिनामा पूरा गर्नेगरी इटली र जापानको संयुक्त इएलसि इलेक्ट्रो कन्सल्ट एसपिए इन एसोसिएसन विथ न्यूजेक नामक कम्पनीले २०७३ साल जेठ १७ गतेदेखि डिपिआर अन्तरगत आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाईन, सामाजिक तथा वाताबरणीय र सम्भाव्यता अध्यायनका काम थालेको हो। लामीडाँडाको रँभुवाबजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम आयोजनाको काम अघि बढाइएको हो। आयोजनाको डिपिआरको काम आगामी मंसिरसम्ममा पूरा हुने विद्युत प्राधिकरणले जनाएको छ।

सन् २०१४ मा जाइकाले पहिचान गरेका नेपालका १० उत्कृष्ट जलाशययुक्त जलविद्युत आयोजनामध्ये पहिलो प्राथमिकतामा राखिएको दुधकोसीको वार्षिक ३ हजार ४४३ गिगावाट घण्टा उर्जा क्षमता रहेको छ। भ्याटसहित करिब २.२ विलियन यूएसडलरमा सम्पन्न हुने अनुमान गरिएको आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधि प्रयोग गरिने बताइएको छ। मुहान नै हिमनदी भएकाले बा¥हैमास पानीको उपलव्धतामा कमी नहुने आयोजनाको जलाशयबाट जलपर्यटनको उत्तिकै सम्भावना रहेको औंल्याइएको छ। सन् २०२४ सम्ममा काम सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको आयोजनाका लागि एडिबिबाट आंशिक लगानी गर्ने प्रतिवद्धता भएको तथा अन्य सम्भावित लगानीकर्तासँग छलफल भइरहेको प्राधिकरणले जनाएको छ। 

वातावरणीय प्रभाव मूल्यांकन प्रतिबेदनका विषयमा छलफल गर्न खोटाङको धितुङमा आयोजित सार्वजनिक सुनुवाई। तस्बिर ः नागरिक

प्रकाशित: २२ भाद्र २०७६ १४:१६ आइतबार

दुधकोसी जलविद्युत_आयोजना