समाज

मातृभाषाका वक्ता घटेकोमा चिन्ता

काठमाडौं - तपार्इं–हामीले छोराछोरीलाई अंग्रेजी सिकाउन मरिहत्ते गरेको करिब दुई दशकको परिणाम विश्लेषण गर्ने हो भने एउटा कुरूप चित्र अगाडि आउँछ, जसमा मातृभाषामा कमजोर र सनातन संस्कार भुल्दै गएका युवाहरूको प्रतिविम्ब देखिन्छ।

शिखरापुर सामुदायिक सिकाइ केन्द्र तथा दक्षिणकाली नगरपालिकाद्वारा शुक्रबार फर्पिङमा संयुक्त रूपमा आयोजित बहुभाषिक सांस्कृतिक प्रदर्शनीका क्रममा सहभागी सामाजिक तथा राजनीतिक अगुवाहरूले यस्तै चिन्ता व्यक्त गरे। ‘अंग्रेजी बोल्नेबित्तिकै छोराछोरी ट्यालेन्ट (दक्ष) भए भन्ने अभिभावकको सोचाइ गलत हो। अंग्रेजीको पछि कुद्दाकुद्दै छोराछोरी आफ्नो भाषा–संस्कृति र संस्कारमा कमजोर भइसके,’ दक्षिणकाली नगरपालिकाकी उपप्रमुख वसन्ती डंगोल तामाङले भनिन्, ‘सबै अभिभावकको चिन्ता र चिन्तन यसतर्फ केन्द्रित हुनुप-यो।’

यसको अर्थ अंग्रेजी सिक्नैहुन्न भन्ने नभएको स्पष्ट पार्दै उनले भनिन्, ‘तर पहिलो प्राथमिकतामा मातृभाषा, दोस्रोमा राष्ट्रभाषा र तेस्रोमा अंग्रेजीलाई राखेर हाम्रा सिकाइ गतिविधि अगाडि बढाउनुपर्छ। अन्यथा हाम्रा संस्कार र संस्कृतिहरू मर्दै जान्छन् र हामी पहिचानविहीन हुन पुग्छौं।’

आजको दिनमा नेपालमा संस्कृत भाषा अपहेलित र विदेशमा प्रशंसित भइरहेको विडम्बनापूर्ण अवस्था रहेको युनेस्को काठमाडौंका उपप्रमुख तथा शिक्षा प्रमुख बलराम तिमल्सिनाले बताए। ‘मातृभाषा मरे हामी मरेसरह हो। मातृभाषासँग हाम्रो जीवन जोडिएको छ,’ उनले भने। नेपालमा पहिले हजारौंले बोल्ने दुरा भाषा घट्दै गई अहिले एकजनामा सीमित भएको र त्यो पनि गैरदुरा जाति अर्थात् अधिकारी थरका व्यक्तिले बोल्ने गरेको उदाहरण दिँदै उनले भने, ‘अंग्रेजीको पछि कुद्दाकुद्दै हाम्रो मातृभाषा मर्न सक्छ, विचार गरौं।’

‘नेपालमा ६ सय वर्ष राष्ट्रभाषाका रूपमा रहेको मैथिली भाषा आज केन्द्रबाट विस्थापित किन भयो ?’ संविधानसभाका पूर्वसदस्य विजय पौडेलले भने, ‘किनभने त्यसले केन्द्रमा मैथिली भाषा बोल्ने प्रयोगकर्ता उत्पादन गर्न सकेन। आज हाम्रो मातृभाषाको नियति मैथिलीकै जस्तो हुन लागेको छ। यसमा सबै सचेत हुनुपर्छ।’

शिखरापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्यामबहादुर केसीले हाम्रो सिकाइमा सीप र संस्कार दुवै सँगसँगै हुनुपर्नेमा जोड दिए। संस्कारको मौलिकता र पहिलो आधार भनेकै मातृभाषा हो,’ उनले भने, ‘राज्यले सामुदायिक शिक्षामा सबलीकरणका लागि भाषा संरक्षणको नारा दिइरहेको छ तर हामी त्यही कुरालाई व्यावहारिक अभ्यासमा लाने प्रयासमा छौं।’

अन्तर्राष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवसको सन्दर्भ पारेर आयोजित बहुभाषिक प्रदर्शनीको उद्घाटन प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा पौडेलले युवापुस्तामा मातृभाषा बोल्नेहरूको संख्या घट्दै भएकोमा चिन्ता व्यक्त गरे। ‘हाम्रो भाषा–संस्कृति क्रमशः लोप हुँदै छ। यसतर्फ सबै समाज तथा राज्यको ध्यानाकर्षण हुनुपरेको छ।’ उनले मातृभाषा संरक्षण र प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालनका लाागि पहल गर्ने पनि बताए।

कार्यक्रममा संस्कृत, नेपाली, नेपाल (नेवारी), तामाङ, उर्दू, लामा (तिब्बती) भाषामा मौलिक प्रस्तुति प्रदर्शन र नेपाली भाषामा भावानुवाद गरिएको थियो। सोही अवसरमा दक्षिणकाली नगरपालिका तथा शिखरापुर सामुदायिक सिकाइ केन्द्रको सहकार्यमा बहुभाषा, बहुसंस्कृति विषयक विद्यालयस्तरीय चित्रकला प्रदर्शनीमा विजयी छात्रछात्रालाई पुरस्कृत गरिएको थियो।

दक्षिणक्षेत्रका १३ विद्यालयका २४ छात्रछात्रा सहभागी भएको सोे प्रतियोगितामा शिखरापुर सामुदायिक विद्यालयकी पेमाडोल्मा शेर्पा प्रथम, कार्डिनल आवासीय विद्यालयका फुर्वादोर्जे शेर्पा द्वितीय र खोकना जन माविकी श्रद्धा खत्री तृतीय भएका थिए। युनेस्कोको सहयोगमा आयोजित चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित: २१ भाद्र २०७६ ०२:३० शनिबार

मातृभाषा चिन्ता