समाज

नेकपाका विभागहरू क्रियाशील हुँदै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विभिन्न विभाग क्रियाशील हुन थालेका छन्। विदेश विभाग, प्रचार विभाग र स्कूल विभागका प्रमुखहरूले आफ्नो जिम्मेवारी सम्हालेर पार्टीलाई गतिशील बनाउन लागेका थालेका हुन्। पार्टी एकता भएको लामो समयपछि विभागको जिम्मेवारी टुंगो लगाएको नेकपाले बिहीबार विदेश विभाग प्रमुख पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जिम्मेवारी सम्हालेका छन्।

यसअघि प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले विभागको जिम्मेवारी सम्हाले पनि बिहीबार विदेश विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले पार्टीले थप सफलता हासिल गर्न पनि आन्तरिक एकता थप सदृढ हुनुपर्ने पनि स्पष्ट पारे। पार्टीको नीति र योजनालाई अन्तराष्ट्रिय क्षेत्रमा पनि अभियानको रुपमा संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याए। अध्यक्ष दाहालले प्रतिक्रियावादीहरुले पार्टीभित्रको सानो कमजोरी पनि उछालेर बदनाम गराउने कोशिस भइरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा बोल्दै पार्टीका विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले कम्युनिस्ट पार्टीलाई कमजोर बनाउने खेल विश्वका प्रतिक्रियावादीले गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नेगरी पार्टीको वैदेशिक नीति तय गर्ने प्रतिबद्धता व्यक्त गरे। मुलुकको राष्ट्रिय स्वतन्त्रता, स्वाभिमान र भौगोलिक अखण्डता नै पार्टीको पनि वैदेशिक नीति तय गर्ने मुख्य आधार भएको पनि नेता नेपालको भनाई थियो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणको बाँकी काम छिट्टै सम्पन्न गरेर पार्टीलाई गतिशील ढंगले अघि बढाउन लागिएको बताए।

प्रकाशित: २० भाद्र २०७६ ०२:२४ शुक्रबार

प्रचार_विभाग नेकपा पुष्पकमल_दाहाल