नेपालगन्ज - नेपालगन्ज–कोहलपुर चार लेन सडकखण्डको गनापुरमा गत साउनमा छाडा चौपायासँग ठोक्किँदा भे८प ७८२५ नम्बरको मोटरसाइकलमा सवार बर्दिया गुलरियाकी सोफिया गुरुङको मृत्यु भयो । यो एउटा प्रतिनिधिमूलक घटना मात्र हो । छाडा चौपायासँग ठोक्किएर यस्ता दुर्घटना अनगिन्ती भइरहेका छन् ।
नेपालगन्जसहित जिल्लाका विभिन्न सडकमा अचेल दिनहुँजसो छाडा चौपायासँग ठोक्किएर दुर्घटना निम्तिने गरेको छ । दुर्घटनामा विशेष गरी मोटरसाइकल र स्कुटरमा सवार व्यक्तिको मृत्यु तथा घाइते हुने गरेको पाइएको छ । सवारीसाधनको ठक्करबाट चौपाया पनि मर्ने गरेका छन् । ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा बाँकेमा सडक दुर्घटनामा परी ६० जनाको मृत्यु भएको थियो भने ६९ जना गम्भीर तथा ८१ जना सामान्य घाइते भएका थिए । चालू वर्ष २०७६÷७७ को साउनदेखि हालसम्म सडक दुर्घटनाबाट ६ जनाको मृत्यु भइसकेको छ ।
दुर्घटना हुनुको कारणमध्ये एउटा कारण सडकमा छाडिएका चौपाया पनि हो । सवारीसाधनसँग ठोक्किएर गत वर्ष पाँच र यस वर्ष दुईवटा चौपाया मरिसकेका छन् । ‘सडकमा जताततै छाडा चौपाया मात्रै छन्,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख (प्रहरी निरीक्षक) पविन्द्र बमले भने, ‘छाडा चौपायाले गर्दा दिनहुँजसो सानाठूला दुर्घटना भइरहेका छन् ।’
नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, सुर्खेत रोड, पूर्व–पश्चिम राजमार्गलगायत क्षेत्रमा असंख्य मात्रामा छाडा चौपाया रहेका छन् । छाडा चौपायाका कारण दिनहुँ सडक दुर्घटना बढ्नुका साथै किसानलाई बाली जोगाउन कठिनाइ भइरहेको छ । नेपालगन्ज उपमहानगरले छाडा चौपायालाई नियन्त्रणमा लिएर समय–समयमा जंगल र गाउँमा छाड्दा किसानको बालीमा समेत नोक्सानी पुग्ने गरेको छ ।
उपमहानगरका अनुसार गत वर्ष हजारको हाराहारीमा रहेका छाडा चौपायाको संख्या यस वर्ष बढेर दुई हजार नाघिसकेको छ । सडकमा गाई, गोरु र खच्चडको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बर्सेनि संख्या बढ्नुमा खुला सिमाना हुँदै भारतीय चौपायाको प्रवेश मुख्य कारण भएको उपमहानगरले जनाएको छ । उपमहानगरभित्रका सडकमा मात्रै अहिले एक हजार पाँच सयको हाराहारीमा छाडा चौपाया छन् । उपमहानगरबाहेक क्षेत्रमा पनि छाडा चौपाया जताततै छन् ।
सीमापारिबाट चौपाया आउने क्रम बढेपछि उपमहानगरपालिका कार्यालयले वडा नम्बर २१ मा करिब ३ बिघा क्षेत्रफलमा नयाँ कान्जी हाउस निर्माण ग¥यो । तापनि समस्या झन् बल्झिँदै गएको उपमहानगरले जनाएको छ । नगरप्रमुख डा. धवलशम्शेर राणा छाडा चौपायाको समस्या अहिले जिल्लाकै जल्दोबल्दो समस्या रहेको बताउँछन् ।
भारतीय खुला सीमाका कारण नेपालगन्जमा दिनहुँ ठुलो संख्यामा भारतीय छाडा चौपाया प्रवेश हुँदा समस्या बढिरहेको उनको भनाइ छ । ‘नेपालगन्जमा रहेका चौपायामध्ये ८० प्रतिशत भारतबाटै आएका हुन्,’ उनले भने, ‘छाडा चौपायाका लागि भनेर हामीले कान्जी हाउस बनायौं, तर यसले पनि थेग्न सकेन ।’ छाडा चौपाया व्यवस्थापनका लागि ठूलो क्षमताको गौशाला निर्माण गर्नुपर्नेे भएको र त्यसका लागि उपमहानगरपालिकाको एक्लो प्रयासले सम्भव नहुने मेयर राणाको तर्क छ । छाडा चौपाया व्यवस्थापनको अजेन्डा जिल्ला समन्वय समितिमा पनि प्रमुखताका साथ प्रवेश भएको छ । चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गर्न सबै स्थानीय तहले सहकार्य गर्ने सहमति भइसकेको छ । तर गौशाला निर्माणको काम भने अघि बढ्न सकेको छैन ।
गौशाला निर्माणका लागि सहरी विकास मन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राईले संसद् विकास कोषको बजेटबाट एक करोड रुपैयाँ दिने घोषणा यसअघि नै गरिसकेका छन् । गृहनगर आइपुगेका मन्त्री राईले आइतबार जिल्लाका सञ्चारकर्मीसमक्ष छाडा चौपाया व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले अग्रसरता देखाउनुपर्ने र उपमहानगरपालिकालाई नेपाल सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए । ‘चौपाया व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारको हो, तर आवश्यकता परेको खण्डमा नेपाल सरकार सहयोग गर्न तयार छ,’ उनले भने, ‘मैले यसअघि नै गौशाला निर्माण गर्नका लागि एक करोड दिने घोषणा गरिसकेको छु, घोषणा गरिएको बजेट दिने प्रतिबद्धता फेरि पनि दोहो¥याउँछु ।’
प्रकाशित: १८ भाद्र २०७६ ०१:५३ बुधबार