समाज

एप्पल साइडर प्रहरी नियन्त्रणमा

पत्तालेस्थित नगरप्रहरीले नियन्त्रणमा लिएकाे प्रतिबन्धित एप्पल साइडर

सोलुखुम्बु– सोलुखुम्बु प्रवेश गर्ने एक मात्र नाका पत्तालेबाट प्रतिबन्धित अल्कोहलजन्य पेयपदार्थ नियन्त्रणमा लिइएको छ। सिसाजन्य र प्लाष्टिकजन्य वस्तु प्रयोगमा प्रतिबन्ध लगाएको सोलुदुधकुण्ड नगरपालिकाले सल्लेरी ल्याउँदै गरेको करिब दुई सय कार्टुन एप्पल साइडर नियन्त्रणमा लिएको हो।

मंगलबार बिहान ट्रकमा लुकाईछिपाई ना.८ ख. ३५५४ नम्बरको ट्रकबाट सल्लेरी ल्याउन खोजिएको बोतलको एप्पल साइडरलाई पत्तालेमा खटिएका नेपाल प्रहरी र नगर प्रहरीले संयुक्त रुपमा नियन्त्रणमा लिएको नगरपालिकाका सूचना अधिकारी दापासा शेर्पाले जानकारी दिए। नगरप्रहरीले यसअघि पनि करिब तीन सय कार्टुन वियर र एप्पल साइडर नियन्त्रणमा लिएर आगामी दिनमा सिससाजन्य पेयपदार्थ ढुवानी नगर्ने सर्तमा फिर्ता पठाएको थियो।

सल्लेरीका व्यापारीले पटक पटक गरेको जफतकै प्रक्रिया अघि बढाइने नगर प्रहरीका हवल्दार ङवाङ ठिले शर्पाले बताए। उनले भने, ‘प्रहरी खाना खान गएको मौकामा नगरपालिका क्षेत्रमा निषेधित सामान ढुवानी गर्दै आएका छन्। ढुवानीकर्ता र व्यापारीहरुको नियत थाहा पाएपछि चेकजाँचलाई कडा पारिएको छ।’ अधिकांश व्यापारीले क्यानमा पाइने पेयपदार्थ ल्याएपनि केही व्यापारीले आँखा छल्न खोजेको उनले बताए। २०७५ पुसबाट नगरपालिका क्षेत्रमा सिसाजन्य र प्लाष्टिकजन्य सामाग्रीको प्रयोगमा रोक लगाइएको छ।

प्रकाशित: १७ भाद्र २०७६ १०:३३ मंगलबार

पत्ताले_नाका एप्पल_साइडर नियन्त्रण