समाज

पशुपतिनाथ मन्दिरमा २ बजेसम्म गरे ४ लाख भक्तजनले दर्शन

काठमाडौँ –पशुपतिनाथ मन्दिरमा यस वर्ष दर्शनार्थीले सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको छ। आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको हो।बिहान १५ मिनेटमै मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न सकिन्थ्यो भने १० बजेपछि आधा घण्टासम्ममा दर्शन गर्न सकिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले बताए।

मूल मन्दिर प्रवेश गर्न पशुपति क्षेत्र जाने स्थानमा चार ठाउँबाट लाइन लाग्ने व्यवस्था गरिएको छ। उत्तरतिर गुह्येश्वरी र दक्षिण एयरपोर्ट तिलगङ्गा क्षेत्रमा मूल मन्दिर प्रवेश गर्नेको बाक्लो भीड देखिन्छ।पश्चिम जयवागेश्वरीबाट छिर्ने लाइन भने सहज रहेकाले भक्तजनलाई त्यताबाट पस्न उहाँले आग्रह गरेको उनले बताए।

यस वर्षदेखि पूर्वतर्फको मूल ढोका पनि तीजका भक्तजनलाई प्रवेश गर्न वैकल्पिक रुपमा खुला गरिएकाले चाँडो दर्शन गरेर फर्कन सकिएको भक्तपुरको साँगाबाट आएकी रश्मिला ढुङ्गानाले बताइन्। विगत वर्षभन्दा यस वर्ष लाइनबाट मन्दिर प्रवेश गरी दर्शन गर्न सहज भएको बताइन्।

दिउँसो २ बजेसम्म करीब चार लाख भक्तजनले पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको सदस्यसचिव ढकालले  जानकारी दिएको छ। तीजको दिन आज सोमबार पनि परेकाले भक्तजनको भीड लागेको हो। भक्तजनको स्वास्थ्यलाई ध्यान दिएर मूल मन्दिर परिसरमै तीन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। निःशुल्क पानी वितरण गर्ने संस्था पनि पशुपति क्षेत्रमा खटिएका छन्।

यस वर्ष उल्लेख्य रुपमा महिला प्रहरी पशुपति क्षेत्रमा खटाइएको छ। तीस प्रतिशत महिला प्रहरी खटाइएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रदीप सिंहले जानकारी दिए। भक्तजनको सुरक्षाका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको जनाएको छ।

मन्दिरमा दर्शन गरेका भक्तजन हंसमण्डप, वनकाली, गौशाला, मित्रपार्कलगायत स्थानमा भक्ति सङ्गीतसहित गीत एवम् नाचगान गरेर बसेका छन् ।अपराह्न ४ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिर गई पूजा एवम् दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ।यसैगरी पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा पनि बिहानैदेखि महिला भक्तजनको भीड लागेको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजङ्ग रायमाझीका अनुसार नागको मणिलगायत बहुमूल्य वस्तु मूर्तिको गर्भगृहमा रहेकाले यहाँ भक्तजनको लाम लाग्ने गरेको बताए। उपत्यकाका वसन्तपुरस्थित महादेव मन्दिर, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत देशभरका शिवालयमा महिला भक्तजनको उल्लेख्य भीड छ।

दिनभर व्रत बसेका महिलाले बेलुकी पूजा लगाउने वा मङ्गलबार बिहान गौदान र पूर्णपात्र गरी हरितालिका तीज व्रत उद्यापन गर्छन्। तीजको व्रत गरेमा पारिवारिक सुख, शान्ति एवम् मनोकामना पूरा हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले पानीसमेत नपिएर भाद्र शुक्ल तृतीयाका दिन व्रत बस्दा महादेव स्वामी पाएको चर्चा पौराणिक धार्मिक ग्रन्थमा उल्लेख छ। रासस

प्रकाशित: १६ भाद्र २०७६ ०९:४८ सोमबार

पशुपतिनाथ विद्यादेवी_भण्डारी दर्शनार्थी तीज