समाज

कीर्ते कागजात गरी तीन लाख रुपैया दुरुपयोग

फाइल फाेटाे।

बाजुरा – बूढीगङ्गा नगरपालिका १० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको छ। आर्थिक वर्ष २०७५÷७६ मा दलित, महिला, बालबालिका र युवा वर्गको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आएको ३ लाख महिला, दलित, बालबालिका र युवालाई नदिएर र उनीहरुलाई कार्यक्रममा सहभागी भएको कीर्ते कागजात गरेर वडापालिकाले नै खर्च गरेको वडास्तरीय दलित नेटवर्कका अध्यक्ष रङ्ग विकले आरोप लगाएको छ।

आर्थिक तथा सामाजिक रुपमा पिछडिएका वर्गलाई विभिन्न किसिमका तालिम, गोष्ठी आयोजना गरेर उनीहरुको क्षमता अभिवृद्धि तथा आयआर्जनका क्रियाकलाप गर्नुको सट्टा उल्टै  बञ्चित गर्न खोजेको विकले बताए।अध्यक्ष विकले भने बूढीगङ्गा नगरपालिका–२ कन्र्सन बाजुरामा रहेका दलित बालबालिकालाई शैक्षिक सामग्री खरीद गर्ने भनेर  १० हजार रकम छुट्याइएकामा  त्यो रकम नेटवर्कलाई कुनै जानकारी नदिएर वडासचिव डिल्ली जैशीले चामल किनेर दिएको भन्ने कुरा जानकारीमा आएको छ, त्यो कुरा हामी सहन सक्दैनौ।

वडा नं १० का  वडास्तरीय बाल सञ्जालका अध्यक्ष राकेश विकले बालबालिकाका लागि आएको रकम बालबालिकालाई नै जानकारी नगराई वडाले आफैँले खर्च गरेको बताए। नगर परिषद वडाबाट लक्षित कार्यक्रमका लागि भनेर सधै तीन/चार लाखको प्रस्ताव गर्दै गएको र नगरबाट पनि प्रस्ताव बमोजिमको रकम विनियोजन  हुँदै आएकामा वडाले भने आफैँले त्यो रकम अनुसारको कागजात मिलाएर खर्च गर्ने गरेको उनले जानकारी दिए।

यस्तै वडाध्यक्ष धर्मराज जैशीले भने “लक्षित कार्यक्रमअन्तर्गतको ३ लाख लक्षित वर्गको रोहवरमा नै खर्च गर्नुपर्छ भनेर वडासचिव डिल्ली जैशीलाई जिम्मा दिइएकामा उनले सोही कार्यक्रममा  रकम खर्च भइसकेको भन्ने सुन्नमा आएको छ। यसबारेमा तुरुन्तै वडापालिकाको बैठक राखेर छानबिन गरिने जैशीले बताए।

जिल्लाका बूढीनन्दा, त्रिवेणी, बडिमालिका, बूढीगङ्गा नगरपालिका र हिमाली, पाण्डवगुफा, स्वामीकार्तिक, गौमुल र छेडेदह गाउँपालिकाका ६८ वडापालिकाले भने लक्षित वर्गका लागि आउने कार्यक्रमअन्तर्गतको रकम सोही वर्गलाई जिम्मा लगाएर बिभिन्न कार्यक्रम गर्दै आएको छ। रासस

प्रकाशित: १६ भाद्र २०७६ ०८:०९ सोमबार

कीर्ते_कागजात बाजुरा लक्षित दुरुपयोग ३_लाख