समाज

वडाध्यक्षका छोरा विद्यालयबाट तीन दिनदेखि बेपत्ता

वीरगन्ज– वीरगञ्जको पावर हाउस चोक नजिक रहेको नीजि विद्यालय जिएचपी स्कुलको होस्टेलबाट एक जना १३ बर्षीय बालक अमित कुमार चौरसिया तीन दिनदेखि बेपत्ता भएका छन्। अमित, पर्साको कालिकामाई गाउँपालिका–२ ंका वडा अध्यक्ष भेडिहारी घर भएका सोनालाल चौरसियाको कान्छो छोरा हुन्।

चौरसिया परिवार वीरगञ्ज महानगरपालिका–१३ तेजारथ टोल बस्दै आएको छ। उनीहरुले अमितलाई गत वैशाखदेखि जिएचपी स्कुलको होस्टलमा राखेका थिए। 
सो स्कुलको कक्षा ६ सेक्सन ‘बी’ मा अध्ययनरत अमित बिहीबारदेखि बेपत्ता भएको उनका काका पन्नालाल चौरसियाले बताए।

अमित सम्पर्कबिहीन भएपछि अभिभावक चिन्तित भएका छन्। तीन दिन बितिसक्दा पनि कुनै सुइँको नपाएको बालकका पन्नालालले बताए। ‘बिहीबार ५ बजेतिर स्कुलमा अमित छैन भनेर फोन आयो, बच्चा घर आएको हो? भनेर सोधियो,’ चौरसियाले भने, ‘विद्यालयले बच्चालाई खोज्न तत्परता देखाएको छैन, जवाफ पनि झारा टार्ने खालको छ। होस्टलको विद्यार्थीको हेरविचार विद्यालयले ध्यान दिनुपर्ने हो, लापरबाही देखियो।’

विद्यालयले भने विद्यार्थीको खोजि गरिरहेको् जनाएको छ। बिहीबार छुट्टी हुँदा दिउँसो ३ बजेर ७ मिनेटमा अन्य विद्यार्थीको पछि अमित पनि बाहिर निस्केको विद्यालयको सीसीटीभीमा देखिएको छ। तर फर्किएको देखिदैन्। घर परिवार वा कुनै आफन्तको सम्पर्कमा समेत बालक छैनन्। साथीहरुले समेत अनभिज्ञता जनाएका छन्। लगातार खोजतलास गर्दा पनि फेला नपरेपछि परिवार तनावमा रहेको चौरसियाको भनाई छ। जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले बालक हराएको जानकारी आएको र त्यसबारे खोजी सुरु भइसकको बताए।

प्रकाशित: १५ भाद्र २०७६ १३:४३ आइतबार

जिएचपी_स्कुल बालक_बेपत्ता