समाज

घुस लिएको आरोपमा ६ जना विरुद्ध मुद्दा दायर

फाइल फोटो

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बाँनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मेलम्चीदेखि काठमाडौँतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने बनेपा ट्राफिक पोष्टसमेतका कर्मचारीले नदीजन्य पदार्थ ढुवानी गरेवापत  घुस माग गरेको भन्ने सूचनाका आधारमा केही समय पहिले उनिहरुलाई आयोगले नियन्त्रणमा लिएको हो।

आयोगले उनीहरुबाट २ हजार रकम र बिभिन्न कम्पनीका दुई लाख ९ सय बराबरका रिचार्ज कार्डसमेत बरामद गरेको हो। यस्तै आयोगले जिल्ला खेलकूद विकास समिति मुगुका तत्कालीन अध्यक्ष लालबहादुर रावत र कोषाध्यक्ष हस्तबहादुर शाहीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जिल्ला खेलकूद विकास समितिका तत्कालीन अध्यक्ष रावत र कोषाध्यक्ष शाहीले १ लाख २० हजार बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ।

खेलमैदान निर्माणमा विनियोजित रकम समितिको बैंक खाताबाट निकासा गरी विद्यालयमा सम्पूर्ण रकम उपलब्ध नगराई हिसाब मिलान गरेर मास्ने नियत राखेको पाइएको आयोगले जनाएको छ।आयोगले लेखापरीक्षक बालकृष्ण खरेल र मतियारको भूमिका निर्वाह गर्ने वीरेन्द्रजङ्ग राना क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएको छ।रासस

प्रकाशित: १५ भाद्र २०७६ १२:१० आइतबार

अख्तियार ट्राफिक दुई_लाख अदालत विरुद्ध