समाज

धान कुट्ने मिल र गाई गोठ बगायो, बस्ती जोखिममा

तादीमा आएको बाढीले पुराएको क्षति। फोटोःराजेश श्रेष्ठ

नुवाकोट - गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले नुवाकोटको तादी गाउँपालिका–३ स्थित कोषगाडका स्थानीयका घरहरु जोखिममा परेका छन्। खहरे खोलामा आएको बाढीले श्यामबहादुर थापाको गोठ बगाउनुको साथै घरमा आंशिक क्षति पुराएको छ।

  जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसार बाढीले सोमनाथ सापकोटाको धान कुट्ने मिल, गोठ र एउटा गाई  समेत बगाएको छ।  यस्तै हरि थापा, कृष्ण थापा, बासु थापा, शिशिर उप्रेती, शिव दाहाल, कुमार शिबभक्ति, गोबिन्दलाल पण्डित, कृष्णप्रसाद लामिछाने, सुराम तामाङ, मछिन्द्र तामाङ, सुमन थापाको धान खेतमा बाढी पसेर क्षेति पुराएको छ। 

यस्तै गए रातिको वर्षाको कारण ककनी गाउँपालिका– २ स्थित पासाङ ल्हामु सडक खण्डको बाह्रमाइल र खानीखोलामा पहिरो गएको जादा सडक अवरुद्ध भएको  छ।   उक्त स्थानमा सडक खुलाउन सैलुङ कट्रक्सनसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले बताए।

यस्तै ककनी गाउँपालिकाकै वडा नम्बर  १ को ठुलो खोला देखी डम्पिङ साइट सम्म ४ ठाउँमा पहिरो गएको छ।  काठमाण्डौ महानगरपालिकासँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको बताइएको छ।

प्रकाशित: १५ भाद्र २०७६ ०४:२५ आइतबार

जोखिम वितण्डा वर्षा