समाज

वडाध्यक्षमाथि डिएसपीको दुर्व्यवहार

दोलखा – जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं डिएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंमाथि दुव्र्यवहार गरेका छन् । दुई साताअघि चरिकोटमा मृत भेटिएका पवन बस्नेत हत्याको अनुसन्धान ढिलो गरेको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई गद्दार भन्दै डिएसपी राईले भाटे कारबाहीको चेतावनी दिएको जनाइएको छ । बिहीबार साँझ चरिकोटमा पत्रकार सम्मेलन गरी चौलागाईंले डिएसपीले आफूलाई तथानाम गाली गर्दै घोक्र्याएरको बताए ।

‘जनताको समस्या लिएर उनको कार्यकक्षमा पुग्दा अनुसन्धान गर्न तेरो सरकारले स्रोत र साधन दिएको छ र ! तँजस्ता गद्दारहरूले नै सबै काम बिगारेको होस् भन्दै तथानाम गाली गर्दै दुव्र्यवहार गरे,’ उनले भने । डिएसपी राईले भने आफूले दुव्र्यवहार नगरेको दाबी गरे ।

‘उहाँ एउटा मुद्दाको अनुसन्धानबारे बुझ्न आउनुभएको थियो,’ उनले भने, ‘सामान्य विवाद भयो होला तर मैले दुव्र्यवहार गरेको छैन ।’ घटनापछि शुक्रबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालको कार्यकक्षमा नेकपाका सांसद पार्वत गुरुङसहित जिल्ला तहका नेतृत्वको उपस्थितीमा डिएसपी राईले चौलागाईंसँग माफी मागेका छन् ।

प्रकाशित: १४ भाद्र २०७६ ०३:२९ शनिबार

जिल्ला_प्रहरी_कार्यालय दोलखा वडाध्यक्ष दुर्व्यवहार