समाज

रेष्टुरेण्ट सञ्चालकसहित ६ जना पक्राउ

कञ्चनपुर- वेदकोटा नगरपालिका–३ दैजी बजार र शुक्लाफाँटा नगरपालिका–६ बाट प्रहरीले समाजमा शान्ति खलबल्याएको आरोपमा आज छ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय झलारीको टोलीले दैजीको सम्झना रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ५२ वर्षीय मोहनजङ्ग रोकाया, उनका छोरा २४ वर्षीय सागर रोकायासहित सहजपुरका एक जना महिला गरी तीन जनालाई पक्राउ गरेको छ।

सोही आरोपमा शुक्लाफाँटा नगरपालिका–६ वन समिति बजारमा रहेको पानस रेष्टुरेण्ट एण्ड बारका सञ्चालक ३४ वर्षीय वीरेन्द्र कुवँर र सर्लाही र सुख्खड घर भएका दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनामाथि मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २ को सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए। रेष्टुरेण्ट सञ्चालकले महिलाहरु राखेर अनैतिक कार्य गराउँदै आएकाले पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताए।

प्रकाशित: १३ भाद्र २०७६ १५:०३ शुक्रबार

रेष्टुरेण्ट सञ्चालक पक्राउ