समाज

छोरी मारेर फरार बुबा १९ बर्षपछि पक्राउ

छोरी हत्या गर्ने बुवा पुर्णवासी लोनीया

भैरहवा– सन्तानको कसलाई माया लाग्दैन होला र? जो कोहीले पनि आफ्नो सन्तानका इच्छा आकाक्षा पुरा गर्न जस्तो सुकै परिस्थिति खेप्न तयार हुन्छन्। सन्तानको माया र ममता कति हुन्छ भन्ने कुरा कागजमा लेखेर र मुखले बोलेर अभिव्यक्त गर्न सकिदैन किनकी आमाबाबुले आफ्ना सन्तानप्रति माया, स्नेह, ममता, आफ्नत्व, आत्मियता र भरोसा गरिरहेका हुन्छन्। यी सब तथ्यलाई तोड्दै रुपन्देहीमा एक बुवाले आफ्नी १५ वर्षीय छोरीको हत्या गरेका छन्।

आफ्नै छोरीको हत्या गरेर फरार व्यक्ति १९ वर्षपछि रुपन्देही प्रहरीले पक्राउ गरेको छ। छोरीको हत्या गरी फरार रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियाका ६३ वर्षीय पूर्णवासी लोनियालाई प्रहरीले बुधबार भैरहवा मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो।

रुपन्देही विष्णुपुरा–९ बस्ने पुर्णवासी लोनीयाले १५ वर्षीय छोरी कान्ती लोनीयाको हत्या गरी घरदेखि अन्दाजी १ किलोमिटर टाढा रहेको घाटमा आफैले बोकी लगी खाल्टो खनी पुरेको रुपन्देही प्रहरीले जनाएको छ। छोरीको हत्या गरी उनले स्वयम छोरी हराएको भनी प्रहरीलाई उजुरी गरेका थिए।

घटनापछि २०५४ भदौ १३ गते गाँउका महिलाहरु घाँस काट्न जाने क्रममा खेतमा कपालको रौहरु, चुराहरू, कपडाका टुक्रा तथा हड्डीहरुको साथै खेतको मेडीमा खनेको माटो र माटोमा दुई वटा प्वालबाट मानिसको टाउको देखिएकोले प्रहरीले सोही समयमा घटनाबारे बुझेको थियो। प्राप्त अनुसन्धानबाट उक्त घटना तत्कालिन विष्णुपुरा–९ बस्ने पुर्णवासी लोनीयाको छोरी रहेको पुष्टी भए पश्चात घटनाको बारेमा सोधपुछ र अनुसन्धान गर्नका लागि बुवा पुर्णवासी लोनियालाई बोलाउँदा फरार भएका थिए।

प्रहरीले टोली घटनास्थलमा पुगी शवको टाउको छुट्टीएको आखा नभएको कंकाल निकाली गाउँलेहरुले कान्ति लोनियाकै लाश भनि सनाखत गरेको थियो। बुबा पुर्णवासी लोनीयाले छोरीलाई पहिला पनि  पटक पटक कुटपिट गर्दै गरेकोले हत्या पनि बुवाले नै गरेको भन्दै प्रहरीमा जाहेरी आएको थियो।

जाहेरीको आधारमा कर्तव्य ज्यान मुद्धामा अनुसन्धान सम्पन्न गरी मिसिल जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा पेश गरी सरकारी वकिल कार्यालयमार्फत रुपन्देही जिल्ला अदालतमा मुद्धा दायर भई मुल्तबीमा रहेकोमा प्रतिवादीलाई १९ वर्षपछि भैरहवाबाटै पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ।

विष्णुपुरा–९ हाल गैडहवा गाँउपालीका–६ गुलरीया बस्ने चिरकुट लोनीयाको छोरा वर्ष ६३ का पुर्णवासी लोनीयालाई वडा नं.५ मालपोत कार्यालय अगाडीबाट बुधवार पक्राउ आज बिहीबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमार्फत जिल्ला अदालत रुपन्देहीमा पेश गरीएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता धर्मराज भण्डारीले बताए।

प्रकाशित: १२ भाद्र २०७६ १३:१९ बिहीबार

छोरी हत्या बुबा पक्राउ