समाज

आफ्नै भवन हुँदाहुँदै मासिक २७ हजार तिरेर कार्यालय भाडामा

मासिक २७ हजार भाडा तिर्ने गरि लिएको सिमी जोन कार्यालय । तस्बिरः सुमन/मुगु

मुगु– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिमी जोन कार्यालयका लागि साविकको जिल्ला कृषि विकास कार्यालयका आफ्नै तीन वटा भवन हुँदाहुँदै अर्को घर भाडामा लिएको पाइएको छ। कृषि ज्ञान केन्द्रका तीन वटा भवन भए पनि सिमी जोन कार्यालयका निमित्त कार्यालय प्रमुख रामदरेश रायले गमगढीको नयाँ सडकमा मासिक २७ हजार तिर्ने गरि आठ कोठा भाडामा लिएका हुन्।

कृषि ज्ञान केन्द्रसँग भएका भवन खाली नभएको तथा कार्यालयका लागि गाडी राख्ने ठाउँ समेत नभएका कारण कार्यालय भाडामा लिनु परेको रायले बताए। नियम अनुसार जता जोन क्षेत्र छनौट गरिएको छ उतै कार्यालय रहनुपर्छ तर हामीले जनतालाई सहज होस भनेर बजारमा नै कार्यालय स्थापना गरेका हौं’ रायले नागरिक न्यूजसँग भने। पहिलो चरणमा सिमी जोन क्षेत्र छायाँनाथ रारा नगरपालिका वडा नम्बर ९ मुर्मालाई छनौट गरिएको छ। तर आफुसँग कोही कसैले भवनका लागि कुरा नगरेको कृषि ज्ञान केन्द्र सम्पर्क केन्द्रका निमित्त कार्यालय प्रमुख सुकिराम नेपालीले जानकारी दिए। सम्बन्धित विषयगत कार्यालय एकै स्थानमा हुँदा सेवा ग्राहीलाई सेवा दिन सहज हुने भए पनि सिमी जोन कार्यालय अलग हुँदा सेवा ग्राहीलाई केहि असुविधा हुने नेपालीको भनाई छ।

कार्यालय प्रमुख रायले दुई जना कार्यालय सहयोगीसमेत भर्ना गरि सकेका छन्। उनले एक जना विजयकुमार यादवलाई आफु सरुवा भएर आउँदा उतैबाटसँगै लिएर आएका हुन्।  दुई जना प्राविधिक सहायक भर्ना गर्नुपर्ने छ भनेर आफुलाई जानकारी रायले गराए पनि कार्यालय सहयोगी बाहिरैबाट नियुक्त गरि ल्याएको विषयमा जानकारी नभएको र त्यस विषयमा तत्काल बुझ्ने जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए।

प्रकाशित: १२ भाद्र २०७६ ०९:४५ बिहीबार

प्रधानमन्त्री_कृषि_आधुनिकीकरण_परियोजना सिमी_जोन_कार्यालय भाडा