भक्तपुर - पाँच दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई बुधबार भक्तपुरमा पञ्चदान पर्व मनाइएको छ। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान च¥हे) का दिन यो पर्व मनाउने गरिन्छ। काठमाडौं उपत्यका र आसपासका केही जिल्लामा मनाइने पञ्चदान पर्वमध्ये भक्तपुरमा मनाइने पर्वको छुट्टै विशेषता रहेको छ।
पर्वका क्रममा भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीमा पाँच वटा दीपंकर बुद्धलाई बिहान भेला गराइएको थियो। त्यहाँबाट दिनभर तीनलाई नगर परिक्रमा गराउने परम्परा छ। यसअघि नगरका पाँच छुट्टाछुटै स्थामा राखिएका दीपंकर बुद्धलाई सूर्यमढी ल्याई पु-याउने परम्परा छ। यसअनुसार बिहानै प्रशन्नशील महाविहार क्वाठण्डौंको मूलदीपंकर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपंकर बुद्ध, मंगलधर्म दीप महाविहार झौरवही पलिखेलको दीपंकर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपंकर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपंकर बुद्धलाई भक्तपुर वडा नं ९ सूर्यमढी टोलस्थित डबलीमा बोकेर ल्याइपुयाइएको थियो।
सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थाय्पाजु) द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराइएको थियो। नगरका विभिन्न टोल, चोकको ठाउँठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष सांगीतिक बाजाको धुनमा नृत्य गराउने, स्त्रोत्र पाठ गरी परिक्रमा गर्ने गराउने परम्परा छ। परम्पराअनुसार पाँच वटा दीपंकर बुद्धलाई बिहान सूर्यमढीबाट जेंला, दतात्रय, क्वाठण्डौं, गोल्मढी, सुकलढोका, महालक्ष्मी, भोलाछें, चोछेंबाट सुकुलढोका ल्याइएको थियो। त्यहाँबाट पुनः साकोथा, दरबार स्क्वायर, इँटाछें, भक्तपुर मिनीबस पार्क ल्याइएको थियो। साथै परम्पराअनुसार त्यहाँबाट फेरि इटाछें, भार्वाचो, वंशगोपाल हुँदै अन्तिममा टौमढी पाँचतले मन्दिर पुयाइयो।
नगर परिक्रमा गर्ने क्रममा हजारौं नगरबासी सहभागी भए थिए। उनीहरुले दान दिएका थिए। दीपंकर बुद्ध बोक्ने कार्यमा संलग्नहरुका अनुसार दानका रुपमा दैनिक उपभोग्य वस्तु दान गर्ने परम्परा छ। धान, चामल, मकै, गेडागुडीलगायतका खाद्यान्न दान गर्ने परम्परा छ। लोभ, लालच नराखी केही प्राप्त गर्ने मनसाय बिना शुद्ध मनले निस्वार्थ रुपमा दान गर्दा पुण्य प्राप्ती हुने विश्वासका साथ हजारौं नगरबासी दानमा सहभागी भएको पर्वका एक जना स्वयमसेवी काजी बज्राचार्यले जनाए।
प्रत्येक वर्ष बौद्ध धर्मालम्वी नेवारहरु ठूलो पर्व पंजदान अर्थात पञ्चदान सांस्कृतिक उत्सवका रुपमा मनाउँछन्। प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व काठमाडौं, भक्तपुर, मध्यपुर थिमि, बनेपा, साँखु, पनौतीलगायतका ठाउँमा मनाइन्छ। पाटनमा भने यो पर्व हरेक वर्ष श्रावणशुक्ल अष्टमीका दिन मनाइन्छ।
पर्वलाई कसैले पञ्चदान भन्ने गर्छन् भने कहीँ पंजदान पनि उल्लेख गरिएको पाइन्छ। पञ्चदान भन्नेहरुका अनुसार यस दिन धान, गहुँ, सानो केराउ, नुन, फलफूल गरी पाँच प्रकारका अन्नदान गर्ने परम्परा छ। त्यसैले यस पर्वलाई पञ्चदान भनिएको हो। त्रिभुवन विश्वविद्यालय बौद्ध शिक्षाका प्राध्यापक पुप्परत्न शाक्यका अनुसार यस पर्वको वास्तविक नाम पंजदान हो। उनका अनुसार पंज संस्कृत शब्द हो। पं अक्षरले पृथ्वी भन्ने अर्थ लगाउँछ भने ज शब्दले उम्रिएको भन्ने जनाउँछ। त्यसैले पृथ्वीमा उम्रिएको वस्तु दान दिने पर्व भएकोले यसको नाम पंजदान हो।
सो दिन आफ्नो क्षमताअनुसार खासगरी धान, चामल, गहुँ, मास, भटमास, फलफूल, नुन र दक्षिणा गरी सात प्रकारका वस्तुहरु दान गर्ने प्रचलन रहेकाले पनि यस पर्वलाई पञ्चदान भन्न मिल्दैन भन्ने वज्राचार्यको भनाइ छ। पंज शब्दको अर्थ बुझ्न नसकेको कारणबाट यो नाम लोप भएर गएको उनीहरुको भनाइ छ।
प्रकाशित: १२ भाद्र २०७६ ०१:४१ बिहीबार