समाज

डाइभर्सन बगाएपछि यात्रुलाई सास्ती

रौतहट - धेरै चल्तीको एउटा सडकको डाइभर्सन बाढीले बगाएपछि यात्रुलाई निकै सास्ती भएको छ।  डेढ महिनापहिले आएको बाढीले गौर गंगापिपरा समनपुर सडकखण्डमा पर्ने पथरा पुलको डाइभर्सन बगाउँदा यात्रुलाई सास्ती भएको हो।  बाढीले क्षति पु¥याएको डेढ महिना बितिसक्दा पनि सम्बन्धित निकायले मर्मतका लागि ध्यान नदिँदा सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

गत असारको २७ र २८ गते आएको विनाशकारी बाढीबाट गौर गंगापिपरा समनपुर सडकखण्डअन्तर्गत राजदेवी नगरपालिकाको पथरानजिक रहेको निर्माणाधीन पुलको डाइभर्सन बगाएपछि उक्त बाटो भएर आवतजावत गर्ने हजारौं यात्रुले सास्ती खेप्नु परेको छ।

बढी चाप रहेको गौर गंगापिपरा समनपुरको (रजैया) सडकअन्तर्गत पर्ने पथरा पुलको डाइभर्सन नबन्दा अधिकांश जोखिम मोलेर तथा अन्य वैकल्पिक बाटो भई सदरमुकाम गौर जाने गरेको स्थानीयको भनाइ छ।  दुर्गा भगवती गाउँपालिकाका पाँचै वडा, माधवनारायणका सबै वडा, गढीमाईका धरमपुर, समनपुर, विनगरालगायत सर्लाहीको रामनगरसहितका विभिन्न स्थानीय तहका जनताको प्रमुख बाटो अवरुद्ध हुँदा सर्वसाधारण सास्ती खेप्न बाध्य भएको दुर्गा भगवती गाउँपालिका–३ का अध्यक्ष धर्मेन्द्रकुमार झाले बताए।

वडाध्यक्ष झाका अनुसार सो डाइभर्सनको तत्काल मर्मत गरेर यातायात सुचारु गराउन सडक डिभिजन कार्यालय चन्द्रपुरलाई पटकपटक आग्रह गरिएको तर मर्मतका लागि चासो नदेखाएको आरोप लगाएका छन्।  राजदेवी नपा र दुर्गा भगवती गाउँपालिकाबाट तत्काल मर्मत गराएर यातायात सुचारु गराउनेतर्फ संयुक्त पहल भइरहेको वडाध्यक्ष झाले बताएका छन्।  सडक डिभिजन कार्यालय चन्द्रपुरका प्रमुख दरोगा साहले आपतकालीन अवस्थामा काम गर्न डिभिजन कार्यालयसँग बजेट नभएको हुँदा स्थानीय तहबाट मर्मत सम्भार गर्नुपर्नेमा जोड दिएका छन्।

  स्थानीय तहबाट ५० प्रतिशत र डिभिजन कार्यालयबाट ५० प्रतिशत लगानी गरेमा तत्काल डाइभर्सन बनाउन सकिने बताउँदै प्रमुख साहले डाइभर्सन बनिसकेपछि सो बाटो भएर जाने अवस्था आउन सक्ने र डिभिजन कार्यालयमा बजेट आएपछि तत्काल उपलब्ध गराउने पनि स्पष्ट पारेका छन्।

प्रकाशित: १२ भाद्र २०७६ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App