कैलाली - अठार वर्षअघि जुन टोल र समुदायमा क्षयरोगी भेटिएका थिए, त्यही टोल र समुदायमा क्षयरोगको जीवाणु फैलिने क्रममा छन्। कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगा नगरपालिकास्थित मसुरिया स्वास्थ्य चौकीका अनुसार १८ वर्षअघि जुन समुदाय, टोल र गाउँमा क्षयरोगी थिए, त्यही वरपर अहिले पनि नयाँ क्षयरोगी देखिन थालेका छन्।
२०५८ सालदेखि मसुरिया स्वास्थ्य चौकीमा काम गर्दै आएका सिनियर अहेब अधिकृत दीर्घराज जोशीका अनुसार १८ वर्षअघि जुन समुदाय, टोल र क्षेत्रमा क्षयरोगी भेटिएका थिए, अहिले पनि सोही वरपर क्षयरोगी देखिएका छन्। ‘औषधि सेवन गरे पनि छरछिमेक र वरपरका अन्य व्यक्तिमा रोग सरेको देखिन्छ,’ उनले भने, ‘यही कारणले पनि वर्षौंदेखि एउटै क्षेत्र, समुदाय र टोलमा क्षयरोग घुमिरहेको छ। ’
क्षयरोगीका परिवारका सदस्य, छिमेकी वा बिरामीका नातागोतामा रोग सरेको देखिएको मसुरिया स्वास्थ्य चौकीका सिनियर अहेब अधिकृत तथा क्षय–कुष्ठ रोगका ‘फोकल पर्सन’ भागीराम चौधरीले बताए। ‘क्षयरोग सरुवा रोग हो, बिरामीसँगको उठबसका कारण पनि सोही समुदाय, वर्ग र क्षेत्रमा क्षयरोग घुमिरहेको देखिन्छ,’ उनले भने, ‘नयाँ बस्ती वा रोगीको सम्पर्कबाहिरको अर्को समुदायमा भने क्षयरोग देखिएको छैन। ’
१८ वर्षअघि जुन समुदाय, टोल र गाउँमा क्षयरोगी थिए, अहिले पनि त्यही समुदाय, टोल र गाउँमा नयाँ क्षयरोगी देखापर्न थालेका छन्। थोरै जनसंख्या र सानो क्षेत्रफलमा एक वर्षको अन्तरमा ११ जना क्षयरोगी देखिनु भनेको खतराजनक अवस्था हो।
क्षयरोग लागेर मरेका बिरामी भए पनि उसको सम्पर्कमा रहेका व्यक्तिमा वर्षौपछि पनि क्षयरोगको लक्षण देखिन थालेको उनी बताउँछन्। ‘बाजेमा देखिएको क्षयरोग वर्षौपछि नातिमा सरेको देखिन्छ,’ उनले भने, ‘नातिसँगको उठबसका कारण वर्षौपछि नातिमा क्षयरोगको लक्षण देखिएको हो। ’ यो समस्या वर्षौ पहिले क्षयरोग भएका व्यक्तिको घरमा अहिले आएर देखिन थालेको उनी बताउँछन्। ‘हामीले हेरेको केसमा वर्षौं पहिले बाजेलाई क्षयरोग लागेर मृत्यु भइसकेको भए पनि अहिले आएर सोही परिवारका सदस्यलाई क्षयरोग देखिएको छ,’ उनले भने, ‘योबाट पनि के पुष्टि हुन्छ भने क्षयरोग वर्षौदेखि उही समुदाय, टोल र क्षेत्रमै घुमिरहेको छ। ’
उनका अनुसार गौरीगंगा नगरपालिका–१ अन्डैया, वडा नम्बर ७ मट्कौना र कैलाशपुरमा वर्षौदेखि क्षयरोगले जरा गाडेको छ। ‘जहाँ बिरामी हुन्छ त्यसैको नजिकको मानिसमा क्षयरोग सर्ने सम्भावना बढी हुने भएकाले पनि त्यही वरपर नै क्षयरोग वर्षौदेखि जरा गाडेर बसेको हो,’ उनले भने।
क्षयरोग रोकथामका लागि प्रभावित क्षेत्रमा गत वैशाखमा ‘टिबी स्क्रिनिङ क्याम्प’ चलाएको बताउँदै चौधरीले भने, ‘प्रभावित गाउँ–टोलमै गएर हामीले खकार संकलन गरी जाँच ग-यौं र त्यहाँबाट पत्ता लागेका बिरामीलाई निगरानीमा राखेर नियमित औषधि सेवन गराउँदै आएका छौं। ’ स्वास्थ्य शिविर सञ्चालनपछि एक साताकै अवधिमा सोही क्षेत्रबाट ६ जना बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आएको उनले बताए।
गौरीगंगा नगरपालिकाका स्वास्थ्य प्रमुख ईश्वरी भुसालका अनुसार अघिल्लो आर्थिक वर्षमा क्षयरोग प्रभावित क्षेत्र अन्डैया, मट्कौना, कैलाशपुर र वनबेहडामा क्याम्प सञ्चालन गरिएको थियो। क्याम्प सञ्चालनपश्चात् बिरामी पत्ता लागेको र उनीहरूलाई नियमित औषधि सेवन गराइरहेको उल्लेख गर्दै उनले भने, ‘क्याम्पले बिरामी पत्ता लागेका चालू आर्थिक वर्षमा पनि त्यस्तै क्याम्पस सञ्चालनको तयारीमा छौं। ’
‘खकार पोजेटिभ’ बढ्दै
नेपालको राष्ट्रिय स्वास्थ्य नीति २०१४ र क्षयरोग निवारणको विश्वव्यापी रणनीतिअनुरूप गुणस्तरीय सेवाको सर्वव्यापी पहुँचमा क्रमशः विस्तार र उत्तरदायी तथा समतामूलक एकीकृत स्वास्थ्य प्रणालीबाट क्षयरोग नियन्त्रण कार्यक्रमलाई प्रभावकारी बनाउँदै सन् २०५० सम्ममा क्षयरोगलाई निवारण गर्ने लक्ष्य लिइएको छ। तर पछिल्ला दुई आर्थिक वर्षमा मसुरिया स्वास्थ्य चौकीमा खकार पोजेटिभ संख्या अर्थात् क्षयरोगका बिरामी बढ्दै गएका छन्। मसुरिया स्वास्थ्य चौकीको सेवाक्षेत्रमा आर्थिक वर्ष २०७३/०७४ मा २९ जनामा क्षयरोग देखिएकोमा आर्थिक वर्ष २०७४/२०७५ मा २५ जनाको फोक्सो तथा १५ जनाको अन्य अंगमा गरी ४० जनामा क्षयरोग संक्रमण देखिएको थियो।
यस्तै आर्थिक वर्ष २०७५/०७६ मा २७ जनामा खकार पोजेटिभ देखियो भने पाँच जनामा फोक्सोबाहेक अन्य अंगमा क्षयरोग लागेको पाइयो। चालू आर्थिक वर्षको डेढ महिनामै खकार पोजेटिभ भएका तीनजना क्षयरोगी देखिएका छन्। ‘यो तथ्याङ्क हेर्दा हरेक वर्ष खकार पोजेटिभका बिरामीको संख्या बढ्दो क्रममा छ,’ सिनियर अहेब अधिकृत चौधरीले भने, ‘त्यो पनि नगरपालिकाको वडा नम्बर १ र ७ को उही टोल र समुदायमा वर्षौदेखि देखिएको छ। थोरै जनसंख्या र सानो क्षेत्रफलमा एक वर्षको अन्तरमा ११ जना क्षयरोगी देखिनु भनेको खतराजनक अवस्था हो। ’
प्रकाशित: १२ भाद्र २०७६ ००:५६ बिहीबार