समाज

अबैध मासु बिक्री हुदैं

बुटवल- बुटवलका मासु पसल मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ। नेपालीहरुको चाडपर्व भित्रिन थालेकाले व्यापारीहरुले धमाधम मासू स्टकमा राख्न थालेका छन्।

जिल्ला स्थित संयुक्त अनुगमन समितिले बुधबार बुटवलमा गरेको अनुगमनमा महिनौ पुराना मासु भेटिनुका साथै पसलहरुले मापदण्ड पूरा नगरेको पाइएको हो। उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नापतौल कार्यालय बुटवल तथा जिल्ला भेटनरी कार्यालयको संयुक्त टोलीले अनुगमन गरेको हो।

बुटवलको नेपालगञ्ज रोड र भुड्कीचौकमा रहेका मासु पसलले मापदण्ड विपरित खुल्ला रुपमा अस्वस्थकर मासु बिक्री गर्ने गरेको भेटिएको जनाएको छ।

खुल्ला र नालीको माथि मासु र माछा काटेर बिक्री गर्ने गरेकाले सुधार गर्न निर्देशन दिइएको उद्योग बाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त कार्यालय प्रमुख रुद्र प्रसाद ज्ञवालीले बताए।

उनले मासु जस्तो संवेदनशिल व्यवसायमा लापरवाही बढि देखिएको बताए। बुटवल सुख्खानगर जाने बाटोको खुल्ला रुपमा नालीको माथि माखा भन्काएर मासु र माछाको व्यापार गर्ने गरेको पाइएको उनले बताए। अधिकांश मासु पसलले खरिद र बिक्री गरेको विल समेत काटेका छैनन्।

चारैतिर मेडिकल र अस्पताल रहेको क्षेत्रमै खुल्लारुपमा सडककै किनारमा मासु काटेर बिक्री गर्दा पनि स्थानीय तहको भने ध्यान पुग्न सकेको छैन।

 

प्रकाशित: ११ भाद्र २०७६ १३:३८ बुधबार

अबैध मासु बिक्री