समाज

विद्यु्त पोल विस्थापित गरी खेलमैदान निर्माण

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोट स्थित कैलाशफाँटमा बगर सम्माएर खेलमैदान बनाइएको छ। म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो। खेलमैदानको लम्बाइ १ सय २० मिटर र चौडाइ ७१ मिटर छ।

यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिका स्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्याम सुन्दर कँडेलले बताए।     

प्याराफिट, घेराबार निर्माण र बीचमा रहेको विद्यु्तको पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याउन सकिने कँडेलले बताए। उनका अनुसार खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत १५ लाख रुपैयाँ विनियोजन गरेको थियो।     

मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट बगर सम्माउनुका साथै म्याग्दी नदीको किनारमा १ सय २० मिटर लामो ग्याबियन पर्खाल निर्माण गरिएको कँडेलले बताए। व्यवस्थित खेलमैदान अभावमा खेलकूद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो।     

खेलाडीले खेलअभ्यास गर्न समस्या थियो। गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकूद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकूदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताए।

अधिकांश बस्तीमा दुई वर्षको अवधिमा खेलमैदान बनाएको अध्यक्ष रोकाले बताए।रासस

प्रकाशित: ११ भाद्र २०७६ ०६:०९ बुधबार

खेलमैदान निर्माण