समाज

कर्णाली राजमार्गमा पहिरो, सयौं सवारीसाधन र यात्रु अलपत्र

जुम्ला- कर्णाली राजमार्गको कालिकोट खण्डमा रहेको तिलागुफा नगरपालिका ७ छाप्रेमा पहिरो जाँदा सयौँको संख्यामा सवारीसाधन  र यात्रु अलपत्र परेका छन्।  सोमबार राति अबिरल वर्षासँगै गाँउ माथिबाट पहिरो आएपछि सडकको निसाना नरहने गरि सडक बगाएको थियो। पहिरो जाँदा नजिकैका स्थानीय गाउँ छाडेर भागेका थिए। पहिरोका कारण तीन वटा बस्तीहरु जोखिममा परेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए। 

पहिरोले बिहानैदेखि  कर्णाली राजमार्ग बन्द छ। जुम्लादेखि सुर्खेत नेपालगंज र नेपालगंज, सुर्खेतदेखि जुम्ला आउन लागेका सवारीसाधन बीचमै अलपत्र परेका छन्। पहिरोबाट मानवीय क्षति भएको छैन।  पहिरोग्रस्त क्षेत्रमा उद्दारका लागि तीन वटै सुरक्षा निकाय खटिएका छन्। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलीयाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुख दिलप्रसाद भट्टको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पहिरो स्थलमा पुगेर फर्किएको छ।

पहिरोको जोखिममा परेका परिवारहरुको तथ्यांक संकलन, उनीहरुको बसोबासका लागि नगरपालिकासँग समन्वय गरिरहेको डिएसपी ओलियाले बताए।  उनले भने, “पहिरो रोकिएको छैन्। छाप्रेका २५ घरहरु तत्काल विस्थापित हुने अवस्थामा छन्। जोखिममा रहेका परिवारको घरमा रहेको सामानहरु सुरक्षित ठाँउ तिर लिने कार्य भइरहेको छ।”

तत्काल पहिरो खुल्ने सम्भावना छैन्। पहिरो खुलाउन एक साता लाग्ने अनुमान गरिएको छ। उनले भने,“ सडक तत्काल खुल्न सक्ने अवस्था छैन्। ठूलठूला ढुंगा सडकमा आएर बसेका छन्। सडकको निसाना छैन्। ग्याविन नहालिकन सडकमा गाडी सञ्चालनमा आउन सक्ने अवस्था छैन्। सडक डिभिजन कार्यालयबाट गएको टोलीले सडक नापजाँच गरिरहेको छ। ”

 तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले पहिरोका कारण छाप्रे, डाँडाको बस्ती बिस्थापित भएको बताए।  उनले भने,“पहिरो अहिले पनि निरन्तर बगिरहेको छ। राति गाउँमा पहिरो पस्दा भागाभाग भएछ।”  छाप्रे डाँडा गाउँका दुई घरमा पहिरो पसेको छ। टाकुल्लाको दुई कोठे घर पुरिएको छ।

पहिरोका कारणले २४ घर विस्थापित भएका छन्। पहिरोका कारणले ४ घरमा पूर्ण क्षति भएको छ। अन्य २० घर पहिरोको जोखिममा रहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। ‘सोमबार बेलुका ५ बजे उज्यालो हुँदा बाढी पहिरो आएकाले मानवीय क्षति भने भएन,’ उनले भने, ‘धनमालको ठूलो क्षति भएको छ।’ बाढी र पहिरोले बालीगाड लघु जलविद्युत आयोजना भत्किएको छ। जसका कारणले विद्युत आपुर्ति बन्द भएको छ।  पहिरो र बाढीका कारणले बालीगाड खोलामा रहेका पानी घट्ट बगाउनु साथै बाली र टाकुल्लाका बस्ती पनि जोखिममा परेको स्थानीय धीरबहादुर शाहीले बताए। ‘तल्लो क्षेत्रका बस्तीहरु जोखिममा परेका छन् उनले भने, ‘अहिले गाउँमा निकै त्रास छाएको छ।  सडक खुलाउन लामो समय लाग्ने देखिन्छ।’ बाढी पहिरो पीडितहरु  खुल्ला चौरमा बस्न बाध्य छन्।

 

प्रकाशित: १० भाद्र २०७६ १०:४३ मंगलबार

कर्णाली राजमार्ग सवारीसाधन