समाज

विप्लवका चार जना फेरि पक्राउ

इटहरी – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका चार जना धरौटीमा छुटेलगत्तै सोमबार सुनसरीबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले काभ्रेका पुष्कर भन्ने घनश्याम श्रेष्ठ, काठमाडौंका आकाश भन्ने माधव गौतम, इटहरी वडा नं. ५ का सूर्य भन्ने रमेश खड्का र भोजपुर आमचोक गाउँपालिकाका प्रज्ज्वल भन्ने कृष्णकुमार श्रेष्ठलाई पक्राउ गरेको हो।

यी चारै जनालाई वैशाख १७ गते जिल्ला अदालत सुनसरीले जनही ५०–५० हजार रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी माग गरेपछि नबुझाउँदा चारै जना कारागार चलान भएका थिए। जिल्ला अदालतको आदेशउपर उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्ला अदालतकै आदेशलाई सदर गरेपछि सोमबार सबैले धरौटी बुझाएर छुटेका थिए।

धरौटी बुझाएर छुटेलगत्तै संखुवासभा प्रहरीले पत्राचार गरेअनुसार पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए। उनका अनुसार पक्राउ गरेर संखुवासभा लगिएको छ।  जिल्ला प्रहरी संखुवासभाका प्रमुख डिएसपी मीनबहादुर लामाका अनुसार चारै जनाको हातहतियार मुद्दा रहेको छ। ‘सुनसरी प्रहरीलाई पक्राउ गरी बुझाइदिन पत्राचार गरेका थियौं,’ उनले भने, ‘चारै जनाको पुरानै मुद्दा हो।’
 

प्रकाशित: १० भाद्र २०७६ ०५:५९ मंगलबार

नेत्रविक्रम_चन्द विप्लव नेकपा माओवादी