समाज

तीन महिनाअगाडि नै उपनिर्वाचनको चहलपहल

पाँचथर - उपनिर्वाचनका लागि तोकिएको मितिभन्दा तीन महिनाअघि नै यहाँका स्थानीय तहमा राजनीतिक दलले चहलपहल बढाएका छन्। राजनीतिक दलको चहलपहल बढेसँगै मतदातामा पनि चासो र चर्चा बढेपछि निर्वाचनको माहोल बन्न थालेको छ।

यहाँका तीन स्थानमा उपनिर्वाचन हुँदै छ। फाल्गुनन्द गाउँपालिकाका प्रमुख, फिदिम नगरपालिका–१ का वडाध्यक्ष र हिलिहाङ–७ का वडाध्यक्ष पदमा निर्वाचन हुँदै छ। फाल्गुनन्द गाउँपालिका प्रमुख अमर नेम्बाङको २०७५ माघ २६ गते निधन भएको थियो। यस्तै फिदिम नगरपालिका–१ का वडाध्यक्ष हर्क मोक्तानको २०७६ साउन ६ गते र हिलिहाङ–७ का वडाध्यक्ष तीर्थराज तिम्सिनाको २०७४ चैत १६ मा निधन भएको थियो। दलहरूले विभिन्न कार्यक्रम गरेर निर्वाचनको चहलपहल बढाएको देखिन्छ। मतदाता तहसम्म नै चुनावको चासो र चर्चा बढेको देखिन्छ।

उम्मेदवारको अड्कलबाजी, मतको अड्कलबाजी बढी देखिन्छ। २०७४ सालको चुनावको मत परिणामलाई हेर्ने हो भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी देखिन्छन्। तर सोही मत परिणामलाई हेर्दा साना दलहरू निर्णायक देखिएका छन्। फाल्गुनन्दको प्रमुख र फिदिम–१ को वडाध्यक्ष कांग्रेसले जितेको थियो भने हिलिहाङ–७ को वडाध्यक्षमा तत्कालीन नेकपा (एमाले)ले जितको थियो। दलहरूबीच तालमेलको समेत चर्चा सुनिन्छ। पार्टीहरूले उम्मेद्वारको निर्णय भने गरिसकेका छैनन्।

स्थानीय तहको निर्वाचनमा फाल्गुनन्द गाउँपालिकामा नेम्बाङले ४ हजार १ सय ६३ मत प्राप्त गरेर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमालेका वीरबहादुर कुरुम्बाङले ३ हजार ३ सय ६७ मत प्राप्त गरेका थिए। यस्तै तत्कालीन नेकपा (माओवादी) केन्द्रका ठाकुर सिंह नेम्बाङले ७ सय ४४ मत प्राप्त गरेका थिए। साविकको दुवै पार्टीको मतलाई जोड्दा कांग्रेस ५२ मतले अगाडि देखिन्छ। परिस्थिति फेरबदल भएको र व्यक्तिका कारण यो नतिजा फेरबदल हुने एकपक्षको विश्वास छ। यहाँ संघीय समाजवादीले ४ सय ९०, राष्ट्रिय जनमुक्तिले ३ सय ११, राप्रपाले २ सय ३४ मत प्राप्त गरेका थिए। यहाँ कांग्रेस जित जोगाउन र नेकपा जित निकाल्ने ध्याउन्नमा रहेका छन्। यहाँ कांग्रेसले बहुमतसहित जितेको थियो।

फाल्गुनन्द गाउँपालिकामा नेकपा र नेपाली कांग्रेसले चुनावी गतिविधि बढाएको देखिन्छ। नियमित भनिएपछि उनीहरूका कार्यक्रम चुनाव लक्षित छन्। अरु दलहरू पनि चुनावमा लागिसकेको देखिन्छ। पार्टी एकीकरणपछि टोलसम्मका कमिटी बनाउनुपर्ने काममा लागेको नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज अइन्द्रसुन्दर नेम्बाङले बताए। ‘उपनिर्वाचनको मिति तोकिएकाले चुनाव केन्द्रित हुनु स्वाभाविक हो। ‘हामी अन्य पार्टीबाट प्रवेश गराउने, संगठन निर्माणको काममा नै लागिपरेका छौं’, उनले भने। नेकपाबाट आकांक्षी उम्मेदवारको रुपमा वीरबहादुर कुरुम्बाङ, करुणा नेम्बाङ, ठाकुर सिंह नेम्बाङलगायतको चर्चा छ।

नियमित कार्यक्रमहरू सञ्चालन गरेको कांग्रेस सभापति नरेन्द्रकुमार केरुङ बताउँछन्। ‘हामी नियमित रुपकै कार्यक्रममा छौं। चुनावका विषयमा नेता कार्यकर्ताको चासो छँदै छ। छलफलहरू भइरहेका छन्’, उनले भने। यहाँ कांग्रेसका वृजहाङ आङदेम्बे, रामराज आङदेम्बेलगायतको चर्चा छ। संघीय समाजवादीलगायतका दलहरूले पनि गतिविधि बढाएको देखिन्छ।

फिदिममा वडा नं. १ मा स्थानीय तहको निर्वाचनमा कांग्रेसका हर्क मोक्तानले ७ सय ७४ मत प्राप्त गर्दै विजयी भएका थिए। पाँच मतले पराजित हँुदै तत्कालीन एमालेका गजाधर भट्टराईले ७ सय ६९ मत प्राप्त गरेका थिए। माओवादीका सागर नेम्बाङले १ सय ३५, राप्रपाका जगत थापाले २ सय ९ मत प्राप्त गरेका थिए। सदरमुकामको वडा भएकाले दलहरूको ध्यान बढेको छ। उम्मेदवारको नामको समेत चर्चा भइरहेको छ। हिलिहाङ–७ मा एमालेका तीर्थराज तिम्सिनाले ७ सय १९ र कांगे्रसका डिल्ली सुवेदीले ४ सय ९९ मत प्राप्त गरेका थिए।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आयोगमा मतदाता नामावलीको विवरण पठाएको छ। पुष्टि भएर आउन बाँकी रहेको निमित्त जिल्ला निर्वाचन अधिकारी सरोज मेहताले बताए। उनका अनुसार फाल्गुनन्द गाउँपालिकामा १६ हजार ९ सय ७१, फिदिम–१ मा ३ हजार ७ सय २२, हिलिहाङ–७ मा २ हजार ६ सय १० जना मतदाताको विवरण पठाइएको छ। पुष्ट्याइँपछि यसमा फेरबदल हुन सक्ने उनले जानकारी दिए।

प्रकाशित: १० भाद्र २०७६ ०५:५३ मंगलबार

उपनिर्वाचन