समाज

बझाङका सबै गाउँ टेलिफोनको पहुँचमा

बझाङ - बझाङ जिल्लाका अधिकांश ठाउँमा टेलिफोनको पहुँच पुगेको छ। बझाङमा टेलिफोन प्रयोगकर्ताको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ।     

नेपाल टेलिकमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५र७६ सम्ममा बझाङमा नेपाल टेलिकमका ग्राहक ९० हजारभन्दा बढी पुगिसकेका छन्। स्काई फोन प्रयोगकर्ता ३६ हजार र नमस्ते प्रयोगकर्ता लगभग ५० हजार रहेका छन्। त्यस्तै, नमस्ते पोष्टपेड प्रयोगकर्ताको सङ्ख्या पाँच हजार पुगेको छ भने स्काई पोष्टपेड प्रयोगकर्ताको सङख्या एक हजार पाच सय पुगेको छ।    

टेलिकमले बझाङमा आफ्ना १८ वटा टावरबाट सेवा प्रदान गरिरहेको छ भने थप २ वटा टावर निर्माणको अन्तिम चरणमा पुगेको छ। मष्टा गाउँपालिकाको ढुङ्ग्राकोट र केदारस्युँ गाउँपालिकाको बाँझ स्यँकोटमा टावर निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माणाधीन उक्त दुई टावर सञ्चालनमा आएपछि जिल्लाभर २० वटा टावरबाट सेवा प्रदान गरिने भएको छ।

टेलिकमका अनुसार बैतडी र बझाङको सिमाना जजल्लाबाट पनि सेवा दिइने भएको छ। त्यस्तै, बझाङका लागि प्रमुख टावरको रूपमा रहेको केदारस्युँ गाउँपालिकाको केदार र खप्तडछान्नामा रहेका बान्ता टावरको पनि स्तरोन्नति गरिने भएको छ। टावर जीर्ण हुँदै गएको र सोलार पुरानो भएकाले उक्त टावरमा सोलार र अन्य केही उपकरण पनि थप गरिने भएको छ। छविस पाथिभेराको लेकगाउँमा रहेको टावर बाहेक अरु सबै टावर सोलारबाट सञ्चालन हुँदै आएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरण बझाङका सहायक अधिकृत बमबहादुर सिंहका अनुसार जिल्लामा सञ्चालित सबै टावरहरुबाट इन्टरनेटको लागि ‘फोर जी’ सेवा पनि विस्तार गरिने भएको छ। फोरजी सञ्चालनका लागि सबै टावरहरूमा सर्भे भइसकेको सिंहले बताए।रासस

प्रकाशित: ९ भाद्र २०७६ ०७:३९ सोमबार

बझाङ टेलिफोन पहुँच