समाज

दर खुवाउन ५ लाख बजेट छुट्याइयो

सिन्धुली - तीज अगावै तामझाम र मनोरञ्जन कम गर्नुपर्ने चर्चा चलिरहदा सिन्धुलीका दुई नगरपालिकाले  तिज विशेष कार्यक्रमको लागि बजेटनै विनियोजन गरेका छन्।  कमलामाई नगरपालिका र दुधौली नगरपालिकाले तिज मनाउन बजेट विनियोजन गरेका हुन् ।

कमलामाई नगरपालिकाले तीज मनाउँनका लागि ३ लाख ५० हजार विनियोजन गरेको जनाएको छ । नगरपालिकाका १४ वटा वडामा १५ हजारका दरले वडास्तरिय तीज कार्यक्रम गर्ने र बाँकी बजेटले नगरस्तरिय कार्यक्रम गर्ने उद्देश्यले तीन ३ लाख ५०

हजार बजेट विनियोजन गरिएको नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले बताइन् ।तीज कार्यक्रम भड्किलो नबनाइ चाँडपर्वको सद्भाव कायम राख्न कार्यक्रम गर्न लागिएको उनले बताईन् ।

उपप्रमुख देवकोटाका अनुसार विनियोजित बजेटबाट महिलाहरुलाई तीजको शुभकामना आदान प्रदान र चियापान कार्यक्रम लागिएको छ।'तीज विशेष कार्यक्रम भनेर निमन्त्रण गरिसकेपछि केही खुवाउनै प-यो, 'उनले भनिन्, 'सरकारले भड्किलो नबनाउन अनुरोध गरेको छ, हामीले त्यसलाई मध्यनजर गरेका छौ।'

नगरस्तरिय तीज विशेष कार्यक्रम कमलामाई पार्टी प्यालेसमै गर्न लागिएको उनले जानकारी दिइन्। यस्तै दुधौली नगरपालिकाले पनि तीज कार्यक्रमको लागि २ लाख बजेट छुट्याइएको नगरपालिका प्रमुख घनश्याम राउतले जानकारी दिए । प्रत्येक वडामा १० हजारका दरले तीज कार्यक्रम गर्न र बाँकी रकमले नगरस्तरिय कार्यक्रम गर्ने उनले बताए ।

उनका अनुसार गत वर्षको तुलनामा यसवर्ष तीज विशेष कार्यक्रम सामान्य तरिकाले गर्ने उद्देश्यले २ लाख मात्रै विनियोजन गरिएको छ। उनले भने,'गत वर्ष ४ लाख तीज कार्यक्रमका लागि छुट्याएका थियौँ, यस वर्ष २ लाख मात्र छुट्याएको छ।'

प्रकाशित: ९ भाद्र २०७६ ०५:५३ सोमबार

मनोरञ्जन बजेट दर