समाज

डेंगी लामखुट्टे नष्ट गर्न महानगरपालिका घरघरमा पुग्ने

विश्व मावि परिसरमा डेंगी नियन्त्रणका लागि फोगिङ मेसिनबाट एडिस एजिप्टाइ प्रजातीको लामखुट्टेको लार्भा नष्ट गरिँदै। तस्बिर ः नागरिक

काठमाडौं – काठमाडौं महानगरपालिका तथा उपत्यकाभित्र फैलिरहेको डेंगी नियन्त्रणको लागि काठमाडौं महानगरपालिका घरघरमा पुग्ने भएको छ। महानगरले प्रभावित टोलका घरघरमा पुगेर डेंगी सार्ने लामखुट्टे नष्ट गर्न र जनचेतना जगाउन घरदैलो अभियान चलाउने जनाएको छ। महानगरपालिकाको स्वास्थ्य विभागले डेंगी संक्रमण भइसकेपछि खास औषधि नभएकाले लामखुट्टेको टोकाइबाट बच्न र डेंगी लामखुट्टेको वृद्धि रोक्ने अभियान चलाउन लागको हो।

अभियान पहिलो चरणमा सोमबारदेखि काठमाडौं महानगरपालिको शोभाभगवती क्षेत्रमा डेंगी फैलाउने एडिस एजिप्टाइ लामखुट्टेको लार्भा नष्ट गर्ने तरिका सिकाउने र टोली आफैंले लामखुट्टेको लार्भा खोजी गरेर नष्ट गर्ने जनाइएको छ। यो क्षेत्रमा विभागले स्वास्थ्य स्वयंसेविकालाई खटाउने तयारी गरिरहेको छ। यसका लागि जनचेतना जगाउन स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइसकिएको विभागका प्रमुख तथा जनस्वास्थ्य अधिकृत नरेन्द्रविलास कर्माचार्यले बताए।

डेंगी लागिसकेपछिको औषधि नहुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै उचित उपाय भएकाले त्यो अनुसार नै विभागले कार्यक्रम अघि सार्न लागेको उनले बताए। त्यसैगरी महानगरपालिकाको १८ नम्बर वडामा पनि डेंगी संक्रमण भएको जानकारी प्राप्त भएको र त्यो क्षेत्रमा पनि यस्तै अभियान जारी राख्ने जनाएको छ।

प्रमुख कर्माचार्यले यो रोगको खास औषधि नभएकाले नगरवासीलाई सचेत हुन आग्रह गरेका छन्। ‘मुख्य कुरा लामखुट्टे बस्ने र बच्चा हुर्काउने वातवरण दिनु भएन,’ उनले भने। खुला गरी राखिएको सफा पानीको भाँडा, आकाशवाट परेको पानी जम्मा हुने भाँडाहरु, बोतल, बट्टा, खुला भाँडा, पाइप, ड्रम, कुलरको भाँडाहरु खुला नराख्न सुझाएका छन्। आफ्नो घरवरिपरि त्यस्ता भाँडा तथा ठाउँ भेटिएमा हटाउन आग्रह गरेका छन्। साथै शंकास्पद भाँडाको पानी जमिनमुनि गाड्न उनले सुझाए। ‘यो रोग लागेपछि औषधि छैन। मुख्य कुरा घर वरिपरि सफाइ राख्ने गरौं,’ उनले भने।

काठमाडौं उपत्यकाकामा अहिलेसम्म दर्जनौं बिरामी संक्रमित भइसकेका छन्। उपचारमा आएका सबैको स्थान सहितको तथ्यांक भने संकलन हुन सकेको छैन। आइतबार नै महानगरपालिका भित्रका ३ वटा डेंगी संक्रमित बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन्। उपचारमा पुग्नेहरु राजधानीको बाफल, खुसिबु, टेकु ,ठूलो भ¥याङ, शोभाभगवती, ताहचललगायतका क्षेत्रका रहेको अस्पतालका प्रवक्ता डा. अनुपराज बास्तोलाले बताए। डा. बास्तोलाले लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे फैलिन दिन नहुने आग्रह सुझाव दिएका छन्। यो लामखुट्टेले बिहान र दिनमा बढी टोक्ने हुनाले घर वरिपरि सफा भाँडामो पानी जम्मा हुन नदिन, पूरा बाहुला भएको लुगा लगाउने, शरीरको खुला भागमा लामखुट्टे विरुद्धको मलम लगाउनेलगायतका उपाय गर्न सकिने सुझाव दिएका छन्।

प्रकाशित: ९ भाद्र २०७६ ०२:२१ सोमबार

डेंगी लामखुट्टे