समाज

विकासनिर्माणको गतिसँगै सिम्रौनगढले मुहार फेर्दै

सिम्रौनगढ नगरपालिकाले पर्यटन प्रवद्र्धन र संरक्षणका लागि निर्माण गरेको कंकाली पोखरीको डिलको सिँढी।

बारा - पुरातात्विक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको सिम्रौनगढको पछिल्लो समय विकासनिर्माणका कारण मुहार फेरिन थालेको छ। स्थानीय तहको निर्वाचनसँगै स्थानीय तहले गरेका विकासनिर्माणले सिम्रौनगढको मुहार फेरिँदै गएको देखिन्छ। ‘विगत तीन दशकमा नेपालको राजनीतिमा धेरै परिवर्तन आए र राजनीतिक परिवर्तनसँगै सत्तामा पुगेकाहरूले सिम्रौनगढको विकासमा कुनै चासो दिएनन्,’ सिम्रौनगढका स्थानीय रामेश्वर मेहताले भने, ‘अहिले सिंहदरबारबाट गाउँमा आएको सरकारले सिम्रौनगढलाई विकासको अनुभूति गराउन सफल बन्दै गएको छ।’

उनले देशकै ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यस ठाउँको विकासमा पहिला त्यति ध्यान दिने नगरिएको आरोप लगाए। उनका अनुसार ओझेलमा पारिएको यस क्षेत्रको चौतर्फी विकासका लागि सिम्रौनगढ नगरपालिकाले अहिले सडक सञ्जाल बढाउनेदेखि सम्पदाको संरक्षण, ऐतिहासिक तथा पुरातात्विक धरोहरहरूको पुनर्निर्माण र भौतिक संरचना निर्माणमा विशेष ध्यान दिएको छ। स्थानीय तहको निर्वाचन भएको दुई वर्ष नपुग्दै पूर्वाधार निर्माण र संरक्षणमा नगरपालिकाले करिब आठ करोड रुपैयाँ खर्च गरेको सिम्रौनगढ नगरपालिका प्रमुख विजयशंकर यादवले बताए।

रानीवास मन्दिरको जीर्णोद्धारमा, देशभरमै सबैभन्दा ठूलो मानवनिर्मित झरोखर पोखरीका डिलहरूको संरक्षण, कंकाली पोखरीको घाट निर्माणलगायत पुरातात्विक, ऐतिहासिक, धार्मिक स्थानहरूमा केन्द्रित भएर नगरपालिकाले लगानी गरिरहेको प्रमुख यादवले बताए। उनका अनुसार झरोखर पोखरीको एक छेउमा भ्युटावर निर्माण प्रक्रियासमेत अघि बढेको छ । भ्युटावर निर्माण भएपछि उत्तरमा चुरे र दक्षिणमा भारतका विभिन्न सहर देखिने र यसले पर्यटकलाई बढावा मिल्ने उनको विश्वास छ। सिम्रौनगढलाई पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोड्न सिम्रौनगढ–तामागढी हुलाकी राजमार्गसमेत निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

ओझेलमा पारिएको यस क्षेत्रको चौतर्फी विकासका लागि सिम्रौनगढ नगरपालिकाले अहिले सडक सञ्जाल बढाउनेदेखि सम्पदाको संरक्षण, ऐतिहासिक तथा पुरातात्विक धरोहरहरूको पुनर्निर्माण र भौतिक संरचना निर्माणमा विशेष ध्यान दिएको छ।

यसबाहेक नगरमा रंगशाला, चक्रपथ, पुस्तकालय, पोखरी र मन्दिरहरूको सौन्दर्यीकरण, सहिद पार्क, खानेपानी, रानीवास मन्दिरमा संग्रहालय निर्माणलगायत योजना अगाडि बढाइएको छ । वर्षौंदेखिको जीर्ण २५ किमि गण्डक नहरको सडक मरमत गरेपछि वीरगन्ज र कलैयाबाट सिम्रौनगढमा आउजाउ गर्नमा पहिलाभन्दा अहिले सहज भएको स्थानीयको भनाइ छ। सिम्रौनगढको सडक बनेपछि ढुवानीसँगै सिम्रौनगढ पुग्ने आन्तरिक पर्यटकका लागि सहज भएको सिम्रौनगढका स्थानीय व्यापारी बताउँछन्।

यहाँको सम्पदा संरक्षणकै लागि नगरपालिकाले एक वर्षपहिला देशविदेशका इतिहास तथा पुरातत्वविद्, शोधकर्ता र लेखकहरूलाई भेला गराई अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो । सम्मेलनमा यो ठाउँको इतिहास, पहिचान, संस्कृति, विकासको अवस्था र परिवेशबारे बहससमेत चलेको थियो ।

सिम्रौनगढको इतिहास ११औं शताब्दीदेखि सुरु भएको र सन् १०९७ मा कर्णाट वंशीय राजा नान्यदेवको पालामा यसले विकसित रूप लिएको इतिहासले देखाउँछ। राजा नान्यदेवले सिम्रौनगढलाई मिथिलाको राजधानी बनाई सन् १०९७ देखि १३२७ सम्म कर्णाट वंशले शासन गरेको दाबी नगरप्रमुख यादव जानकारी दिए। त्यसबेलाका राजा हरिसिंह देवको पालामा दिल्लीका बादशाह गयासुद्दिन तुकलकले सिम्रौनगढमाथि आक्रमण गरी ध्वस्त बनाएका थिए । तत्कालीन राजा शिवसिंहको निवास अर्थात् राजदरबारलाई भत्काएर श्री ३ जंगबहादुर राणाका छोरा जितजंग जबराले १९३५ सालमा रानीवास मन्दिर निर्माण गरेका थिए ।

‘सन् १९९१ देखि १९९४ सम्म पुरातत्व विभागले इटलीको ‘आइएसएमइओ’ नामक संस्थाको सहयोग र पुरातत्वविद्को सहभागितामा स्थलगत अध्ययन र उत्खनन गरेपछि तत्कालीन राजा वीरेन्द्रबाट त्यस क्षेत्रको संरक्षण र पर्यटन विकासका लागि नक्सा तयार गर्न निर्देशन भएको थियो तर त्यो कागजमै सीमित रह्यो,’ नगरप्रमख यादवले भने। उनले ईसाको चौथो शताब्दीतिरका दुर्लभ मूर्तिहरू रहेको यो ठाउँ पुरातत्वविद् र अनुसन्धानकर्ताका लागि उत्तिकै महत्वपूर्ण भए पनि संरक्षमा पहिलादेखि नै राज्य नलागेको गुनासो गरे।

प्रकाशित: ९ भाद्र २०७६ ०२:०१ सोमबार

पुरातात्विक विकास मुहार