समाज

नेतादेखि कार्यकर्तासम्मकाे मिलेमत्ताेमा अवैध क्रसर सञ्चालन

धनुषाको गणेशमानचारनाथ नगरपालिकास्थित गोदारमा सञ्चालित अवैद्य क्रसर उद्योग । तस्बिरः नागरिक

धनुषा– क्रसर उद्योगले खोलाबाट अवैध रुपमा बालुवा तथा गिट्टी उत्खनन् गर्दै आएको गुनासोका सामु निरिह तीनै तहको सरकालाई क्रसर उद्योगीले चुनौती दिएका छन्। राजनीतिक दलका नेता कार्यकर्तादेखि ठुलठुला ठेकेदारहरुले विनादर्ता नै सञ्चालनमा रहे पनि नियमनकारी निकाय मौन रहेको देखिएको छ।

अवैद्य रुपमा प्रत्येक वर्ष बालुवा गिट्टीको उत्खनन्बाट बाढीले गाउँ प्रभावित भए पनि कुनै समाधान दिन नसकेको तीनै तहको सरकारको सामुन्ने विनादर्ता क्रसर उद्योगहरु सञ्चालन गरिए पनि नियमनकारी निकाय मुखदर्शक बनेको हो। प्रदेश २ को प्रवेशद्वारमा नै रहेको जनकपुरधाम उप–महानगरपालिकास्थित बेङ्गाशिवपुरमा विनोद साहले सञ्चालन गरेको सुभास क्रसर उद्योग वर्षौदेखि नविकरणविना नै सञ्चालनमा रहेको पाइएको छ।

धनुषा जिल्लाको पूर्वी क्षेत्र चुरेको फेदमा रहेको गणेशमान चारनाथ नगरपालिकाको तल्लो गोदारमा सञ्चालित कमला स्टोन क्रसर उद्योगसमेत मापदण्ड विपरित विनानविकरण दुई वर्षदेखि सञ्चालनमा रहेको छ। कमला स्टोन क्रसर उद्योगका सञ्चालक महादेव महतो सुडीले सञ्चालन गरेको उद्योगले वन निकुञ्ज, खोला, वस्तीबाट हुनुपर्ने दुरीको मापदण्ड पूरा गरेको छैन्। २०७३ असार मसान्तसम्म मात्र उद्योगको नविकरण भएको छ। तर पनि हालसम्म सञ्चालनमा रहेको पाइएको छ।

यस्तै धनुषाकै दक्षिणी सिमावर्ती क्षेत्रसँग जोडिएको नगराइन नगरपालिका वडा नं. ४ मा सञ्चालित कुमारी माँ गिट्टी उद्योग पनि मापदण्ड विपरित नै सञ्चालनमा रहेको पाइएको छ। जोगमाया देवी झाले सञ्चालन गरेको क्रसर उद्योग नदीभन्दा ५ सय मिटर दूरीमा हुनुपर्ने मापदण्ड उद्योगले पालना गरेको छैन भने २०६९ भदौ ११ गते सम्म मात्र उद्योगको नविकरण भएको छ। सोही नगरपालिकाको घोडघासमा अरुण कुमार साहले सञ्चालन गरेको जय मातादी स्टोन क्रसर उद्योग पनि मापदण्ड विपरित छ भने, २०७३ मंसिर ११ गतेसम्म मात्र उद्योगको नविकरण भएको पाइएको छ।

यस्तै धनुषाको लबटोलीमा सञ्जय शर्माले सञ्चालन गरेको कमलामाई क्रसर उद्योग पनि मापदण्ड विपरित सञ्चालित छ। २०७३ पुस २८ गते सम्म मात्र उद्योग नविकरण भएको भए पनि हालसम्म निर्वाध रुपमा सञ्चालनमा रहेको पाइएको छ।
धनुषाकै मिथिला नगरपालिका अन्तर्गत चुरेको फेदमा रहेको तुलसीमा ज्ञानकुमारी देवीले सञ्चालन गरेको क्षिरेश्वरनाथ महादेव क्रसर उद्योग पनि अवैधानिक छ।

सरकारले तोकेको मापदण्ड पुरा गरेको छैन् भने तर पनि निर्वाध रुपमा सञ्चालनमा रहेको पाइएको छ। यसरी घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधामले क्रसर उद्योग मापदण्ड विपरित रहेकाले कसैको पनि दर्ता नविकरण नगरेको प्रमुख सञ्जिवकुमार दुवेले जानकारी दिए।

मापदण्ड अनुसार खोला, वस्ती, वन, राजमार्गबाट हुनुपर्ने निश्चित दूरीका साथसाथै वातावरणीय परीक्षण प्रतिवेदनसमेत नरहेकाले उद्योगहरु वर्तमान मापदण्ड अनुसार नभएकै कारण नवीकरण बन्द गरिएको उनको भनाई छ।

नयाँ मापदण्ड पूरा नगरेका क्रसर उद्योगले ढुंगा, गिट्टी, बालुवा संकलन गरिरहेकाले त्यस्ता कार्य अविलम्ब रोक्नभन्दै पत्राचार गरिएको थियो। २०७५ पुस १५ गते घरेलु कार्यालयले सबै क्रसर उद्योगलाई पत्राचार गरेको थियो। तर कार्यालयको पत्राचारलाई बेवास्ता गर्दै व्यवसायीले कामलाई जारी नै राखेको छ। यता नविकरण नभए पनि उद्योगले आन्तरिक राजस्व कार्यालयमा राजस्व बुझाउँदै आएका छन्।

प्रकाशित: ८ भाद्र २०७६ ०९:४४ आइतबार

अबैध_क्रसर नेता_कार्यकर्ता ठेकेदार