समाज

लामिछानेसहित तीनजनालाई आज अदालत पेस गरिँदै

चितवन – शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनालाई आइतबार अदालत पेस गरिँदै छ। दोस्रो पटक थप पाँच दिनको म्याद शनिबार सकिएकाले प्रहरीले अदालतमा पेस गर्ने भएको हो। घटनामा अनुसन्धान भइरहेकाले म्याद थपको माग राखेर वा मुद्दा दर्ता गरेर अदालती प्रक्रिया सुरु गर्नेबारे भने प्रहरीले केही जनाएको छैन।

लामिछानेसँगै युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई दुईपटक गरी १० दिनको म्याद लिई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिसकेको छ। लामिछाने हिरासतमै रहेका बेला प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले भेटेका छन्। रूपन्देहीमा हुने कार्यक्रममा सहभागी हुने क्रममा चितवन आएका खनालले शुक्रबार चितवन प्रहरीमा पुगेर लामिछानेलाई भेटेका थिए।

प्रहरीबाटै असुरक्षित रहेको महसुस आफूलाई भएको भन्दै पत्नी निकितामार्फत लामिछानेले सामाजिक सञ्जालमा सन्देश पठाएका थिए। भेटका क्रममा खनालले लामिछानेलाई सुरक्षाको जिम्मा नेपाल प्रहरीको रहेको प्रस्ट पारेका थिए।

प्रकाशित: ८ भाद्र २०७६ ०२:३९ आइतबार

शालिकराम_पुडासैनी आत्महत्या रवि_लामिछाने