समाज

एकैदिन तीन लाख बिरुवा रोपिएको दाबी

सर्लाहीको जानकीनगरमा डिभिजन वन कार्यालयको आयोजनामा शनिबार भएको वृक्षरोपण कार्यक्रममा सहभागी स्थानीय महिला। तस्बिर: टंक/नागरिक

सर्लाही - प्रदेश २ सरकारले हरित अभियान सुरु गरेको छ। सो अभियानअन्तर्गत शनिबार एकै दिन तीन लाख बिरुवा रोपिएको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले बताए। मन्त्री रायले शनिबार मात्रै प्रदेश २ भित्रका आठवटै जिल्लाका १९५ हेक्टर खाली जमिनमा तीन लाख बिरुवा रोपिएको जानकारी दिए।

‘प्रदेश सरकारको हरित अभियानअन्तर्गत आज ८ वटै जिल्लाका विभिन्न ठाउँमा एकसाथ विभिन्न जातका बिरुवा रोपिएको छ,’ शनिबार सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरस्थित प्रस्तावित सामुदायिक वन क्षेत्रमा वृक्षरोपण कार्यक्रममा बोल्दै मन्त्री रायले भने, ‘१९५ हेक्टर क्षेत्रफलमा ३ लाख विरूवा आजै रोपेका छौं।’

काटेर बिक्री गर्नका लागि मात्र नभई पर्यावरणीय हिसाबले मानव जीवनका लागि अत्यन्त आवश्यक भएकाले वृक्षरोपण गरिएको उल्लेख गर्दै मन्त्री रायले रोपिएका बिरुवा संरक्षणमा सरोकारवाला निकायसहित स्थानीय उपभोक्तालाई ध्यान दिनसमेत आग्रह गरे। ‘अहिले दिनदिनै पानीको सतह घटिरहेको छ, चापाकल, इनार, डिप बोर्डिङ सुकेर खानेपानीको समस्या बिकराल बनिरहेको छ,’ मन्त्री रायले भने, ‘खानेपानीको रिर्चाजका लागि रूख नभई हुँदैन, त्यसैले प्रदेश सरकारले हरित अभियान सञ्चालनमा ल्याएको छ र रोपिएका बिरुवा संरक्षणमा सबै सरोकारवाला निकायसहित स्थानीय उपभोक्तालाई उचित ध्यान दिन आग्रह गर्दछु।’

शनिबारबाट सुरु हरित अभियानअन्तर्गत प्रदेशभित्रका खाली वन क्षेत्रमा निरन्तर बिरुवा रोपिने मन्त्री रायले जानकारी दिए। अभियानअन्तर्गत प्रदेशभित्रका आठवटै जिल्लामा शनिबार भएको वृक्षरोपण कार्यक्रममा प्रदेशका मन्त्रीहरू सहभागी भएको उनले बताए। सर्लाहीको वृक्षरोपण कार्यक्रममा प्रदेश सांसदद्वय डिल्लीप्रसाद उप्रेती एवं सञ्चमाया मोक्तान, जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीलगायत विभिन्न सरकारी अधिकारीको सहभागिता रहेको थियो।

हरित अभियानअन्तर्गत ईश्वरपुर नगरपालिका–१२, घारीबथानस्थित फूल्जोर बाबा साझेदारी वनको १० हेक्टर तथा हरिपुर नगरपालिका–२, जानकीनगरस्थित प्रस्तावित सामुदायिक वनमा ९ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालय सर्लाहीका डिभिजनल वन अधिकृत माधवप्रसाद देवले जानकारी दिए। डिभिजनल वन अधिकृत देवका अनुसार टिक, मसला, मगहीलगायत जातका बिरुवा रोपिएको हो।

शुक्रबार दिउँसो सर्लाहीकै सागरनाथ वन विकास परियोजना कार्यालय परिसरमा सम्पन्न प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्रको सम्पूर्ण वन संरक्षण र सम्वद्र्धन गर्ने तथा १९५ हेक्टर खाली जमिनमा वृक्षरोपण गर्ने निर्णय गरेको थियो।

प्रकाशित: ८ भाद्र २०७६ ०१:५८ आइतबार

हरित_अभियान बिरुवा वन_विकास