समाज

आफ्नै पतिबाट बलात्कृत भएको भन्दै तेस्रो लिङ्गीले दिइन उजुरी

कैलाली– तेस्रो लिङ्गीको नागरिकता लिएकी मोनिका शाही (योगी) ले आफ्नै पतिबाट बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएकी छिन्। गत साउन अन्तिम सातामा धनगढीको एक होटेलमा पति रमेश नाथ योगीसँगै बसेको समयमा आफूलाई रातिको समयमा पटक–पटक जबरजस्ती करणी गरेको भन्दै मोनिकाले प्रहरी कार्यालयमा उजुरी दिएकी हुन्।

शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै तेस्रो लिङ्गी मोनिकाले आफ्नो पतिले लागू औषध सेवन गरेर पटक पटक जबरजस्ती करणी गर्न थालेपछि आफूले जबरजस्ती करणीमा मुद्दा दर्ता गराएको बताइन्। अढाइ वर्ष अघि तेस्रो लिङ्गी मोनिका र रमेशनाथ वैवाहिक बन्धनमा बाँधिएका थिए। उनीहरुले रिपोटर्स क्लब काठमाडौँमा पत्रकार सम्मेलन गरेर वैवाहिक बन्धनमा बाँधिएको घोषणा गरेका थिए।

वैवाहिक बन्धनमा बाँधिए लगत्तै उनीहरुले नेपालको कानुन बमोजिम विवाह दर्ता र नाता प्रमाणित समेत गराएका थिए। रमेश डडेल्धुराको परशुराम नगरपालिका–१२ का बासिन्दा हुन्। मोनिका रमेशकी कान्छी पत्नी हुन्।

आफूलाई पतिले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत साउन २१ गतेका दिन मुद्दा दर्ता गराएको उनले बताइन्। ‘मैले पतिले मलाई जबरजस्ती करणी ग¥यो भनेर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन जाँदा प्रहरीले सुरुमा दर्ता गर्नै मानेन,’ उनले भनिन्,‘उल्टै प्रहरीले तेस्रो लिङ्गी पनि कहीँ बलात्कृत हुन्छ भन्दै मुद्दा दर्तै गरेन। ’ पछि आफू प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई भेटेर भनेपछि मात्रै प्रहरीले दर्ता गर्न मानेको उनले बताइन्। उजुरी दिनुअघि बलात्कृत भएको भन्दै सेती अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण समेत गरिएको थियो।  

योसँगै उनले रमेशकी जेठी पत्नी र सासू ससुराबाट अगल बस्ने भन्दै साउन २८ गते अंशबण्डा गरिपाउँ भन्दै कैलाली जिल्ला अदालतमा निवेदन दर्ता गराएकी छिन्। 
तेस्रो लिङ्गीले पहिलोपटक जिल्ला प्रहरी कार्यालय कैलालीमा पतिबाट बलात्कृत भएको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले मोनिका शाहीले आफ्नो पतिले जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएको बताए। उजुरीका आधारमा उनका पतिको खोजी कार्य भइरहेको उनले बताए।

प्रकाशित: ६ भाद्र २०७६ १३:४० शुक्रबार

तेस्रो_लिङ्गी बलात्कृत पति