लहान - सडक कालोपत्रे गरिएपछि कम्तीमा दुईचार वर्ष टिक्छ भन्ने विश्वास सबैले राखेका हुन्छन्। तर ठेक्का सम्पन्न नहुँदै कालोपत्रे उप्किन थाल्यो भने काममा हेलचेक्र्याइँ भएको सहजै अनुमान गर्न सकिन्छ। सिरहाको लहान–भगवानपुर–ठाढी सडकले त्यही नियति भोग्नुपरेको छ। कमजोर बेसमाथि कालोपत्रे गरिएका कारण निर्माण सम्पन्न नहुँदै सो सडकखण्डमा कालोपत्रे उप्किन थालेको छ। यसबाट ठेकेदारहरूले कत्तिसम्म गुणस्तरहीन काम गरेका छन् भन्ने छताछुल्ल हुन पुगेको छ।
‘साइट इन्जिनियरको उपस्थितिबेगर कालोपत्रेकोे काम भयो,’ भगवानपुर गाउँपालिका–२ का वीरेन्द्र साहले भने, ‘काममा गुणस्तरीयता नहुँदा बन्दाबन्दै कालोपत्रे उप्किन थाल्यो।’ कालोपत्रेका लागि ‘बेस’ निर्माण डेढ महिनाअघि गरिएको थियो। ‘बर्खामा निरन्तर सवारीसाधन गुड्दा बेसको माथिल्लो भाग खुकुलो भइसकेको थियो,’ उनले भने, ‘त्यस्तो अवस्थामा कालोपत्रे गरिएपछि सडक कहाँ गतिलो हुन्थ्यो ?’ खुकुलो बेसमै कालोपत्रे गरिएकाले बन्दाबन्दै सडकको कालोपत्रे उप्किन थालेको अनुमान भगवानपुरका ललितनारायण साहको छ। ‘बेसमा रोलिङ गरेर कडा पारेपछि तारब्रसले सफा पारेर मात्र प्राइमिङ (मट्टीतेल र अलकत्रा मिसाएर तयार पारिएको झोल) छर्नुपर्छ। अनि मात्र मसिनो गिट्टी र अलकत्रा मिसाएर तयार पारेको प्रिमिक्स हालेर कालोपत्रे गर्नुपर्छ,’ उनले भने, ‘तर यहाँ यो प्रक्रिया पूरा भएको देखिएन।’
निर्माणाधीन सो सडक कालोपत्रे गर्ने ठेक्का एपेक्स–उदय जेभीले पाएको छ। ५ करोड ३५ लाख ४७ हजार ६ सय २० रुपैयाँमा ७ किलोमिटर ४ सय ५० मिटर सडक कालोपत्रे गर्न सो निर्माण सेवाले सडक डिभिजन कार्यालयसँग २०७५ जेठ २ गते ठेक्का सम्झौता गरेको सडक कार्यालय लहानका सूचना अधिकारी इन्जिनियर बेचन भण्डारीले जानकारी दिए। सम्झौताअनुसार २०७६ कात्तिक १ गतेसम्म निर्माण काम सकिसक्नुपर्ने हो। म्याद सकिन दुई महिना बाँकी रहँदा सम्झौताअनुरूपको झन्डै एक किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको भण्डारीले बताए। अहिलेसम्म ठेकेदार कम्पनीले ४ करोड ३ लाख रकम भुक्तानी लिइसकेको भण्डारीको भनाइ छ।
सडक डिभिजनले नियमित नियमन नगर्दा ठकेदार कम्पनीलाई सडकको गुणस्तरीयता छल्न सजिलो भएको स्थानीय बताउँछन्। बन्दै गरेको सडकको महेशबारी चोकदेखि भगवानपुरसम्म ठाउँठाउँमा कालोपत्रे उप्किएर गहिरो खाल्डो भएको छ। सो सडकखण्डको ठेक्का निर्माण कम्पनीले निर्धारित ठेक्का रकमको करिब ४० प्रतिशत कम रकममा साकार गरिएको हो। सम्झौतामा सडकको न्यूनतम मोटाइ ३० एमएम हुनुपर्ने भनिए पनि त्यति नभएको स्थानीयको गुनासो छ। ‘बन्दाबन्दै कालोपत्रे उप्किँदा हामीले सडक कार्यालयमा जानकारी गरायौं तर उल्टै ठेक्केदारलाई दुःख नदिन भनियो,’ महेशबारीका रामकुमार यादवले भने, ‘अगाडि बनाउँदै पछाडि उप्किँदै गएको कालोपत्रेलाई सडक कार्यालयका इन्जिनियरले गुणस्तरीय भनेर हामीलाई फर्कायो।’
साइट इन्जिनियरसमेत रहेका सूचना अधिकारी भण्डारीले बन्दै गरेको कालोपत्रे सडकको गुणस्तरीयतामा कमी नरहेको दाबी गरे। ‘बन्दाबन्दै कालोपत्रे उप्किएर प्याच देखिनु स्वाभाविक हो,’ उनले भने, ‘निर्माण सम्पन्न भएको ६ महिनाभित्र सडकमा आउने खराबी करेक्सन गर्ने जिम्मा निर्माण कम्पनीकै हुन्छ। त्यसैले चिन्ता लिनुपर्दैन्।’ उप्किएका कालोपत्रेजति सबै ठेक्केदारले टाल्ने विश्वास उनले दिलाए।
लहान र सीमावर्ती भारतीय सहर लौकाहालगायत सहरसँग सम्पर्क जोड्ने यो सडक वर्षौदेखि बेवास्ताको सिकार बन्दा जीर्ण भइसकेको थियो। १० वर्षअगाडि यसलाई जिल्ला विकास समिति मातहतमा ल्याइएको थियो। यो सडक कालोपत्रे गर्न सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत जिल्ला विकासले गर्दै आएको थियो। तर तराई–मधेसमा त्यो बेला जनतान्त्रिक तराई मुक्ति मोर्चाका नामबाट हिंसात्मक गतिविधि भएर यो परियोजनामा काम गर्ने इन्जिनियर नवराज विष्ट मारिएका थिए। त्यसपछि सडक निर्माण बीचमै रोकिएको थियो।
सडक डिभिजन नं. ५ लहानको मातहतमा आएपछि यो सडक कालोपत्रेको काम अगाडि बढ्यो। २०७३ देखि लहान–भगवानपुर–ठाढी सडक कालोपत्रे काम सुुरु भई अहिलेसम्म करिब १५ किलोमिटर कालोपत्रे भइसकेको छ। लहानदेखि सीमावर्ती ठाढीसम्म १८ किलोमिटर दूरीको यो सडक अगाडि बन्दै र पछाडि भत्किँदै गयो। तीन वर्षअघि निर्माण भएको लहानदेखि पाँच किलोमिटर दक्षिणसम्मको कालोपत्रेको अवशेष मात्र बाँकी छ।
प्रकाशित: ६ भाद्र २०७६ ०१:२७ शुक्रबार