समाज

८४ वटा व्यवसायिक फर्ममा अनुगमन गरेर सरकारले के-के गर्‍यो ?

काठमाडौं– सरकारले चालु आर्थिक वर्षको एक महिनामा नै ८४ वटा व्यवसायिक फर्महरुको अनुगमन गरेको दावी गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहिबार पत्रकार सम्मेलन गरी साउन महिनामा मात्रै ८४ वटा व्यवसायिक फर्महरुको अनुगमन गरेको जानकारी दिएको हो।

अनुगमन गरिएको मध्ये ४१ वटा फर्मलाई विभागले जरिवाना गराएको छ भने २५ वटालाई स्पष्टिकरण  सोधिएको, ३ वटालाई सिलबन्दी गरिएको, ४ वटाको गुणस्तर परिक्षणका लागि नमुना पठाईएको तथा एउटा फर्म विरुद्ध मुद्धा दर्ता गरेको विभागका निर्देशक शोभाखर रेग्मीले जानकारी दिए। ती फर्महरुबाट जरिवाना वापत ३लाख ३७ हजार रुपैयाँ असुली गरिएको उहाँले जानकारी दिए। विभागले गत आर्थिक बर्षमा १ हजार ६ सय ६१ वटा अनुगमन गरेकोमा १ सय ६१ वटाबाट जरिवाना वापत ४३ लाख २१ हजार रुपैया राजश्व संकलन गरेको छ।

पत्रकार सम्मेलनमा उपभोक्ता अधिकारकर्मीहरुले विभागको अनुगमन प्रभावकारी नभएको भन्दै बजारमा प्रभाव पार्ने गरि अनुगमन गर्न सुझाएका थिए।

उपभोक्ता अधिकारकर्मीले बजारमा अस्वभाविक मुल्यवृद्धि काममै रहेको, गुणस्तरहीन बस्तु विक्रिमा नरोकिएको गुनासो गरेका थिए।

प्रकाशित: ५ भाद्र २०७६ १३:०१ बिहीबार

सरकार व्यवसायिक_फर्म अनुगमन