समाज

बुहारी पढाउँदै स्थानीय तह

ओखलढुंगा–ओखलढुंगाका दुईवटा स्थानीय तहले विवाहित छात्रालाई (बुहारी)लाई अध्ययनका लागि सहयोग गर्ने कार्यक्रम ल्याएका छन्। जिल्लाको सुनकोशी र खिजीदेम्बा गाउँपालिकाले बुहारी छात्रवृत्ति कार्यक्रम ल्याएका हुन्।

विद्यालय शिक्षामा बुहारीहरुको आकर्षण बढाउन वार्षिक रुपमा आर्थिक सहयोग गर्ने नीति लिईएको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए। विवाहित महिलालाइ कम्तीमा माध्यामिक तहको शिक्षाको पहुँचमा पु¥याउन प्रति बुहारी विद्यार्थी ५ हजार बार्षिक छात्रावृति प्रदान गरिने उनको भनाई छ। ‘विवाह गरेपछि पढाई छोड्ने चलनलाई अन्त्य गर्दै औपचारिक शिक्षा पुरा गराउने हाम्रो लक्ष्य हो पढ्ने बुहारीलाई बार्षिक ५ हजार दिन्छौं।’ अध्यक्ष अधिकारीले भने,‘उक्त छात्रावृत्ति प्राप्त गर्नको लागि वैधानिक विवाह भएको हुनु पर्नेछ।’ खर्च जुटाउन नसकेर विद्यालय जान नसक्ने बुहारी बिद्यार्थीहरुलाई यो कार्यक्रमले समेट्ने सुनकोशी गाउँपालिकाले जनाएको छ।

यस्तै खिजिदेम्बा गाउँपालिकाले यस वर्ष गाउँपालिकाभित्र अध्ययनरत १५ जना विवाहित छात्राहरुलाई बुहारी छात्रवृत्ति प्रदान गरेको छ। पालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बुहारी छात्राहरुलाई उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरिएको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए। खिजीदेम्बा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्दै गरेका बुहारी छात्राहरुलाई प्रोत्साहन स्वरुप मासिक ५ सयका दरले एकमुष्ठ प्रतिव्यक्ति वार्षिक ६ हजार छात्रवृत्ति प्रदान गरेको छ।

यस वर्ष बुहारी छात्रवृत्ति पाउने छात्राहरु सबैभन्दा बढि चण्डेश्वरी माद्यमिक विद्यालय रगनीका छात्राहरु रहेका छन्। चण्डेश्वरी माविमा अध्ययन गर्ने ८ जना बुहारी छात्राले छात्रवृत्ति पाएका हुन। त्यस्तै हिमगंगा माद्यामिक विद्यालयका ५ जना र फुलमती माद्यामिक विद्यालय खिजिफलाटेका २ जना बुहारी छात्राहरुले पनि सहयोग रकम पाएका छन्।

गतवर्ष ४ जना बुहारी छात्राले सहयोग रकम पाएका थिए। खिजीदेम्बा गाउँपालिकाले आधारभुत तहको परीक्षामा उत्कृष्ट हुने र एसइईमा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई समेत सम्मान गरेको जनाएको छ।

प्रकाशित: ५ भाद्र २०७६ ११:३१ बिहीबार

बुहारी अध्ययन स्थानीय