समाज

महीनावारी र सुत्केरीलाई दूधदही खान दिइदैन्

बाजुरा- जिल्लाका अधिकांश ठाउँमा अझैपनि महीनावारी र सुत्केरी भएका महिलालाई दूधदही दिन नहुने मान्यताले जरो गाडेर बसेको छ। सामान्य अवस्थाभन्दा महीनावारी र सुत्केरी भएका बेला महिलालाई बढी पोषिलो खाद्यवस्तुको आवश्यकता पर्छ।     
     
बडिमालिका नगरपालिका–७ सिराडीकी कल्पना विक भछिन्, “बाजुराका ग्रामीण भेगमा भने दूधदही लगायतका गोरसजन्य वस्तु केही दिँदैनन्, सुत्केरी र महिनावरी भएका महिलाले परम्परागतरुपमा न त गाईवस्तुलाई छुन मिल्छ न त गोरस प्रयोग गर्न मिल्छ।”     
     
सोही वडाकी मासमती विकले महीनावारी भएका बेला गाईवस्तलाई छोएमा सुक्दै जाने, बिरामी हुने र देवीदेउता रिसाउने हुदाँ गाईवस्तुलाई छुने हिम्मत नै नगरेको पीडा सुनाउइन्। जिल्लाका केही स्थानीय तहमा फाट्टफुट्ट गोरसको प्रयोग गरेता पनि अधिकांश स्थानीय तहका ग्रामीण भेगका सुत्केरी र महीनावारी भएका महिलालाई दूध, दही अझै नदिने गरेको बडिमालिका नगरपालिका–९ का गोपाल विकले बताए।     
     
उसो त अधिकांश ग्रामीण भेगमा गाई, भैँसीको दूध, दही र मही बिक्री गर्ने चलन अहिले केही मात्रामा छ। दूधदही बिक्री गरे देउता रिसाउने भन्दै बिक्री गर्न नमानेको बडिमालिका–३ रजालीका जुना रोकायाले सुनाए। जसले गर्दा व्यावसायिक प्रणालीको विकास हुनसकेको छैन। जबसम्म मान्छे व्यावसायिक हुँदैन, तबसम्म उसको आयआर्जनमा वृद्धि हुन सक्दैन भन्ने उनको ठम्याइ छ।     
     
गौमुल गाउँपालिका–६ टुनीकी रचना विक भन्छिन्, “यो परम्परागत अन्धविश्वासका विरुद्ध गाउँ–गाउँमा अभियान सञ्चालन गर्नुपर्दछ।” जिल्ला अस्पतालका डा. रोहित गिरीले भने महीनावारी र सुत्केरी भएका बेला रगत बढी बग्ने र शरीरमा कमजोरीको महशुस हुने भएकाले यो अवस्थामा दूध, दही, हरियो सागपात, माछामासुलगायत साविकको भन्दा पोषिलो खानेकुरा बढी प्रयोग गर्नुपर्ने बताए।रासस     

 

प्रकाशित: ४ भाद्र २०७६ ०६:२७ बुधबार

महीनावारी सुत्केरी दूधदही दिइदैन्