समाज

फरार अभियुक्त पुनः पक्राउ

धनुषा - प्रहरी कार्यालय धनुषाबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक अभियुक्त पुनः पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध शाखाबाट फरार राममणी यादवलाई मंगलवार राति सिरहाको माडरबाट पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

त्यस्तै अभियुक्तलाई प्रहरी कार्यालबाट भगाउन सहयोग गरेको आरोपमा यादका साथिहरु प्रमेश यादव, सूर्यनारायण मण्डल, राजकुमार यादव र रामप्रकाश यादव पनि पक्राउ परेका छन्। उनीहरुमाथि सार्वजनिक अपराधको मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए। एक हप्ता अघि ब्यानको क्रममा यादव फरार भएका थिए। प्रहरीको लापरवाहीका कारण अभियुक्त फरार भएपछि प्रहरी सहायक निरीक्षक (असई) राज कुमार भण्डारीलाई निलम्बनसमेत गरिएको थियो।

जनकपुरधाम उपमहानगरपालिका–८ बलुवा टोलमा डेरा लिई बस्दै आएका सिरहाका २० वर्षीय राममणी यादव डेरा नजिकै बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। प्रहरी हिरासतबाटै थुनुवा यादव फरार भएको घटना छानबिनका लागि प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली समेत गठन भएको थियो।

प्रकाशित: ४ भाद्र २०७६ ०५:०७ बुधबार

पक्राउ फरार_अभियुक्त जबरजस्ती_करणी