समाज

खुला दिसारहित बन्दै स्थानीय तह

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका स्थानीय तह धमाधम खुला दिसामुक्त घोषणा हुन थालेका छन्। झन्डै सतप्रतिशत घरमा शौचालय बनेर पनि विनाशकारी भूकम्पका कारण सिन्धुपाल्चोक खुला दिसामुक्त जिल्ला घोषित हुनबाट रोकिएको थियो।

भूकम्पको चार वर्षपछि पुनः जिल्लालाई खुला दिसामुक्त बनाउन लागिएको हो। त्यसअघि जिल्लाका १२ स्थानीय तह आफ्नो गाउँ/नगरलाई खुला दिसामुक्त घोषणा गर्न जुटेका छन्। पछिल्लो दुई साताबीचमा आठ स्थानीय तह खुला दिसामुक्त घोषित भइसकेका छन्। मंगलबार मात्रै सीमावर्ती भोटेकोसी र मध्यक्षेत्रको इन्द्रावतीलाई खुला दिसामुक्त गाउँपालिका घोषणा गरिएको थियो।

जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार यसअघि बलेफी, लिसंखुपाखर, पाँचपोखरी थाङपाल, त्रिपुरासुन्दरी गाउँपालिका तथा बाह्रबिसे र मेलम्ची नगरपालिका खुला दिसामुक्त घोषित भइसकेका छन्। चौतारा नगरपालिका, सुनकोसी, हेलम्बु र जुगल गाउँपालिका यसै साता खुला दिसारहित घोषित हुँदैछन्। समितिका संयोजक रहेका जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले भदौ २० गते सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको बताए।

भूकम्पअघि ९९ प्रतिशतभन्दा बढी घरमा शौचालय पहुँच स्थापित भइसकेको थियो। भूकम्पले ६० प्रतिशत शौचालय क्षतिग्रस्त बनाएको तथ्यांक छ।

‘जिल्लालाई पहिल्यै खुला दिसामुक्त बनाउने लक्ष्यमा भूकम्प बाधक बन्यो,’ उनले नागरिकसँग भने, ‘पुनर्निर्माणअन्तर्गत घरसँगै शौचालयसमेत ठडिएपछि पुरानो सपना साकार हुने चरणमा पुगेको छ।’ तामाङका अनुसार भूकम्पपछि बनेका सबै ७४ हजार घरमा व्यवस्थित शौचालय छन्। साथै पुनर्निर्माण सम्पन्न सामुदायिक विद्यालय, सरकारी, सामुदायिक भवन र सार्वजनिक क्षेत्रमा समेत शौचालय बनिसकेका छन्। अनुदानको तेस्रो किस्ता लिन अनिवार्य शौचालय बनाउनुपर्ने नीति अघि सारेकाले जिल्ला पुनः खुला दिशामुक्त बन्ने चरणमा पुगेको उनको भनाइ छ।

२०७२ वैशाखमा सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी थियो। तर २०७२ वैशाख १२ गतको भूकम्पले त्यसलाई बिथोल्यो। युएन ह्याबिटाटको आर्थिक तथा प्राविधिक सहयोगमा विभिन्न साझेदार संस्थामार्फत २०६९ जेठबाट खुला दिसामुक्त अभियान थालिएको थियो। भूकम्पअघि ९९ प्रतिशतभन्दा बढी घरमा शौचालय पहुँच स्थापित भइसकेको थियो।

भूकम्पले ६० प्रतिशत शौचालय क्षतिग्रस्त बनाएको तथ्यांक छ। २०६८ को राष्ट्रिय जनगणनाअनुसार जिल्लाको घरधुरी संख्या ६६ हजार ६ सय ८८ रहेकोमा अभियानअघि शौचालय पहुँच ३६ प्रतिशतमात्र थियो। झन्डै २७ हजार घरमा मात्र शौचालय थिए। अभियानपछि ४३ हजार नयाँ शौचालय बनेका थिए। ६६ हजार आठ सय शौचालय बनेर तत्कालीन ७९ मध्ये ७० भन्दा बढी गाविस खुला दिसामुक्त घोषित भएपछि भूकम्प आएको थियो।

जिल्लामा भूकम्प प्रभावित लाभग्राही संख्या भने साढे ८५ हजार छ। लाभग्राहीमध्ये ८४ प्रतिशत घरको पुनर्निर्माण सकिएको छ। पुनर्निर्माण तथ्यांकअनुसार राष्ट्रिय जनगणनाबाट कायमभन्दा झन्डै सात हजार बढी घर निर्माण भइसकेका छन्।

प्रकाशित: ४ भाद्र २०७६ ०२:३० बुधबार

खुला दिसामुक्त