समाज

भगौडाबाट २५ लाख दण्डजरिवाना

खोटाङ – जिल्ला अदालत खोटाङले वर्ष दिनको अवधिमा फरार तथा भगौडाबाट २५ लाख रुपैयाँभन्दा बढी दण्डजरिवाना असुल गरेको छ। विभिन्न मुद्दामा दोषी ठहर भए पनि लामो समयदेखि हालसम्म फरार भएका तथा भगौडालगायत अभियुक्तबाट उठ्नुपर्ने कुल एक करोड ४० लाख एक हजार पाँच सय ७७ रुपैयाँ ३६ पैसामध्ये अदालतले आव २०७५/७६ मा २५ लाख ३४ हजार आठ सय ६१ रुपैयाँ जरिवानाबापत राजस्व असुल गरेको हो। अदालत तथा जिल्ला प्रहरी कार्यालय खोटाङको सहकार्यमा फरार तथा भगौडाबाट सो दण्डजरिवाना असुल भएको स्रेस्तेदार लालबहादुर कार्कीले बताए। अदालतका अनुसार फरार तथा भगौडाबाट अझै पनि एक करोड १४ लाख ६६ हजार सात सय १६ रुपैयाँ ३६ पैसा जरिवाना असुल गर्न बाँकी रहेको छ।

यसैबीच जिल्ला अदालतले कैद सजाय तथा जरिवाना तोकिएका व्यक्तिबाट भुक्तान हुन बाँकी कैद तथा जरिवाना रकम उठाउन स्थानीय तहसँग सहकार्य गर्ने भएको छ। फरार दोषी नागरिकता, राहदानीलगायतका कार्यालयीय कामका लागि स्थानीय तहको सम्पर्कमा आउने भएकाले अदालतले फरार तथा भगौडाको लगत स्थानीय तहलाई पठाउने निर्णय गरेको हो। कतिपय फरार तथा भगौदाको मृत्यु भइसकेकाले कैद सजाय तथा जरिवानाको लगत चुस्तदुरुस्त राख्न पनि स्थानीय तहलाई सुझाउने निर्णय गरिएको जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले बताए।

प्रकाशित: ३ भाद्र २०७६ ०१:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App