समाज

अनुदान फिर्ता गरेर ‘रेट्रोफिट’ !

रेट्रोफिट गरिएको घर हस्तान्तरण गरिदै।

धादिङ-  चार वर्षअघि गएको विनासकारी भूकम्पले धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ रिजालगाउँकी रुद्रकुमारी रिजालको घर चिरा चिरा भयो। घर चर्किएको भएपनि बस्नै डर लाग्दो थियो। भूकम्प पीडितलाई आवास निर्माण अनुदान भनेर सरकारले तीन लाख तीन किस्तामा उपलब्ध गराउने भनेपछि पहिलो किस्ताका लागि नाम टिपाइन्। नामावली निस्केर पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ पनि दिइन्। घर बनाउने तयारी गरिरहँदा श्रीमानको मृत्युपछि घर बनाउने काम रोकियो।

श्रीमानको मृत्युपछि घर व्यवहार आफैले धान्नुपर्ने भएका कारण घरको जग हाल्न सकिनन्। पहिलो किस्ताको अनुदान लिएर घर नबनाए सरकारलाई पैसा फिर्ता गर्नुपर्छ भन्ने हल्ला गाउँभरि चल्न थालेपछि घर बनाउने कि नबनाउने भन्ने अन्यौल परेको उनले बताइन्। ‘भूकम्पले घर पूर्णरुपमा भत्किएको त थिएन तर बस्न सक्ने अवस्था चाँहि थिएन’, उनले भनिन्, ‘घर बनाउन पहिलो किस्ताको अनुदान लिए तर श्रीमानको मृत्युपछि आफैले बनाउन आँट आएन।’

पछिल्लो समय एक लाख अनुदान पाउने सूचीमा नाम निस्केका धेरै भूकम्प प्रभावितले तीन लाख अनुदानका लागि नाम सिफारिस गरिरहेका छन्। तर रिजालले भने पूर्ण क्षतिको अनुदान फिर्ता गरेर पुरानो घर रेट्रोफिट (प्रवलिकरण) गरेको सुनाइन्। ‘मेरो नाम तीन लाख अनुदान पाउने सूचीमा थियो, घर बनाउन भनेर पहिलो किस्ताको रकम पनि सम्झौता गरेको थिए’, उनले भनिन्, ‘तर घरको आर्थिक अवस्था ज्यादै कमजोर थियो, नयाँघर बनाउन त के पुरानो घरको ढुंगामाटो समेत पन्छाउन सकिरहेको थिइन।’

चर्किएकै घरमा बसिरहेका रिजालले अनुदानको रकम फिर्ता गरेर रेट्रोफिट गरिएको घर निर्माण गरेकी छन्। बुइगल सहितको दुई तल्ले पुरानो घर अहिले नयाँ जस्तै भूकम्प थेक्ने बनेको छ। चर्किएकै घरमा जोखिम मोलेर बस्दै आइरहेका रिजालले अब भने आफू सुरक्षित भएको बताइन्। ‘पुरानो घर, भूकम्पले चर्किएको, त्यसमाथि इन्जिनियर र डकर्मी आएर गाह्रो प्वाल पार्दा अब घर नै रहन्न कि जस्तो लाग्थ्यो’, उनले भनिन्, ‘चर्किएकै घरलाई रेट्रोफिट गरेर भूकम्प थेग्ने निर्माण भएको छ।’

प्रबलिकरण गरिएको घर जिल्ला आयोजना कार्यान्वयन ईकाई भवन तथा आवासका प्रमुख कोषनाथ अधिकारी र वडा अध्यक्ष होम प्रसाद रिजालले संयुक्त रुपमा रेट्रोफिट सम्पन्न प्रमाणपत्र सहित हस्तान्तरण गरिएको छ। घर हस्तान्तरण गर्दै वडा अध्यक्ष रिजालले रेट्रोफिट गरिएको ढुँगा माटोको घरको बारेमा सुरुमा अनभिज्ञ रहेको भन्दै अहिले घर निर्माण भएर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको पनि बताए।

जिल्ला आयोजना कार्यान्वयन ईकाइ (भवन) धादिङका प्रमूख कोषराज अधिकारीले नयाँ घर निर्माणको काम सकिएकाले अब पुरानो घरलाई बलियो प्रविधिकाबारे लाभग्राहिसम्म पुर्‍याउन आवश्यक रहेको बताए। ‘पुरानो घरको मौलिकपन कायम राख्न पनि रेट्रोफिट आवश्यक छ’, उनले भने, ‘सुरुमा हामीले बुझाउन सकेनौँ, अब ढिला गर्नु हुदैँन।’ प्रवलिकरणका कारण हाम्रो मौलिकता र सँस्कृतीको जर्गेना भएको भन्दै कम खर्चमा पहिलेको जस्तै ढुँगामाटोको बलियो घर निर्माण गर्न सकिने बताए।

 

प्रकाशित: २ भाद्र २०७६ १०:५५ सोमबार

भुकम्प रेट्रोफिट पूनर्निर्माण