समाज

सरकारले पहल नगर्दा १५ स्थान अझै परेनन् विश्व सम्पदा सूचीमा

काठमाडौं - पुरातत्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका १५ महŒवपूर्ण स्थान हालसम्म पनि युनेस्कोको सूचीमा पर्न सकेका छैनन्। सन् २००८ मा विश्व सम्पदा सूचीमा सूचीकृत हुन पुरातत्वविभागले सम्भावित १५ स्थानको दस्तावेज संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूह (युनेस्को) लाई बुझाएको थियो।

बीचमा सरकारी निकायले युनेस्कोसँग छलफल नगर्दा ललितपुरका बुङमती र खोकना, काभ्रेको पनौती, पाल्पाको तानसेन, जनकपुरको जानकी मन्दिर, जुम्लाको सिन्जा, मुस्ताङको लोमान्थाङलगायतका ऐतिहासिक तथा पुरातातत्वक महत्व भएका ठाउँ विश्वसम्पदामा पर्ने सम्भावना टर्दै गएको हो।

सन् १९९६ मा पुरातत्व विभाग र संस्कृति मन्त्रालयको पहलमा सम्भावित सात स्थानको विवरण युनेस्कोलाई बुझाइएको थियो। जसमा गौतम बुद्धको जन्ममस्थल लुम्बिनी पनि समेटिएको थियो। सोही विवरणका आधारमा सन् १९९७ मा लुम्बिनीलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको थियो।

सन् २००८ मा युनेस्कोलाई पठाइएको सूचीबारे सरोकारवाला निकायले चासो नदिँदा सम्भावित १५ स्थान विश्व सम्पदा सूचीमा अझै पर्न सकेका छैनन्।

सन् २००८ मा पठाइएको सूचीबारे सरोकारवाला निकायले चासो नदिँदा सम्भावित १५ स्थान विश्व सम्पदा सूचीमा अट्न नसकेको पुरातत्वविभागका प्रमुख डा. सुरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार पुरातत्वविभाग, सम्पदाविद्, पुरातŒवविद् र अन्य सरोकारवाला निकायको पहलमा २००८ अघि नै सम्भावित ठाउँहरुको सूची तयार पारिएको थियो। ‘नेपालका धेरै ठाउँ विश्व सम्पदामा अट्ने सम्भावना र तथ्य भेटिएकाले नै सरकारले त्यति बेला १५ स्थानको सूची तयार पारी युनेस्कोलाई पठाएको थियो,’ उनले भने, ‘तर नाम र विवरण पठाएपछि सरकारी निकायले समन्वय नगरेका कारण ऐतिहासिक ठाउँहरु विश्व सम्पदा सूचीमा पर्न सकेका छैनन्। यसबारे सबैको ध्यान पुग्नु आवश्यक छ।’

श्रेष्ठका अनुसार कुनै ठाउँ वा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने पक्रिया लामो र झन्झटिलो छ। विवरण पठाएको चार वर्षपछि मात्रै विश्व सम्पदामा राख्ने वा नराख्ने निर्णय युनेस्कोले गर्छ। नेपाल सरकारले पहल नगर्दा सूची पठाएको ११ वर्ष बित्दा पनि नेपालका ऐतिहासिक ठाउँहरु विश्व सम्पदा सूचीमा पर्न नसकेका हुन्। ‘हामीले समन्वय गर्ने हो भने दुई वर्षभित्रै सम्भावित क्षेत्रलाई विश्व सम्पदा सूचीमा अटाउन सक्छौं,’ श्रेष्ठले भने, ‘पुरातत्वविभाग मात्रै तातिएर यी ठाउँलाई विश्व सम्पदाभित्र राख्न सकिँदैन।’

कस्तो ठाउँ पर्छ विश्व सम्पदाभित्र ?
विश्व सम्पदा सूचीमा अटाउन सामान्य विशेषता र विविधता बोकेको ठाउँमात्रै भएर पुग्दैन। त्यो ठाउँ अनुपम र अद्वितीय हुनुपर्छ। त्यहाँ मानव र प्रकृतिले सिर्जेका कलात्मक वस्तु वा संरचना हुनुपर्छ। सांस्कृतिक सम्पदा छ भने त्यो सम्पदा कुन कालखण्डमा निर्माण भएको हो भन्ने कुरालाई बढी ख्याल राखिन्छ। भाषा, संस्कृति र मानव सभ्यतालाई त्यो ठाउँले झल्काएको छ भने पनि त्यसलाई मुख्य आधार मानिन्छ।

त्यो ठाउँले मानव सभ्यता र इतिहासलाई उजागर गरेको हुनुपर्छ। दुरुस्तै देखिने र मौलिकता बोकेका सभ्यतासहितका भवन र संरचना हुनुपर्छ। यसबाहेक युनेस्कोले विश्व सम्पदा सूचीमा अटाउनका लागि सांस्कृतिकअन्तर्गत ६ वटा र प्राकृतिकअन्तर्गत चारवटा आधार खोज्ने पुरातत्वअधिकृत डा. श्रेष्ठको भनाइ छ। उनका अनुसार प्राकृतिक रुपमा र सांस्कृतिक रुपमा भिन्न र फरकपन भएका ठाउँलाई युनेस्कोले खोजीखोजी विश्व सम्पदा सूचीमा समावेश गर्छ। हाल नेपालका १० ठाउँ विश्व सम्पदा सूचीभित्र छन्। पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, हनुमानढोका दरबार क्षेत्र, लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, चाँगुनारायण मन्दिर क्षेत्र, बौद्ध स्तुप क्षेत्र, स्वयम्भूनाथ क्षेत्र र पशुपतिनाथ क्षेत्र विश्व सम्पदा सूचीभित्र परेका छन्।

संस्कृतिविद् सत्यमोहन जोशीले नेपालका ऐतिहासिक धरोहर र सम्पदा विश्वका लागि अनुपम नमुना भएको बताए। उनले अन्य देशको तुलनामा नेपालका ऐतिहासिक तथा पुराताŒिवक महŒवका स्थान विश्व सम्पदाका लागि उत्कृष्ट रहेको जानकारी दिए। ‘यत्तिका महŒव भएका ठाउँहरु संसारका अरु देशमा छैनन् तर हाम्रो अक्कल नपुग्नाले सांस्कृतिक र अन्य मौलिक विषयसँग जोडिएर हामीले फाइदा लिन सकेका छैनौं,’ उनले भने, ‘अहिले सम्पदा र ऐतिहासिक क्षेत्र झन् धरापमा पारिएको छ, यसले हामीलाई राम्रो गर्दै गर्दैन।’ उनका अनुसार यसअघि विश्व सम्पदाभित्र अटेका ठाउँलाई विश्व सम्पदा सूचीमा पारिराख्न चुनौती थपिँदै गएको छ। सम्पदा क्षेत्रमा कंक्रिट भरिनु र मापदण्ड पालना नगर्दा युनेस्कोले पटकपटक चेतावनी दिँदै आइरहेको छ।

प्रकाशित: २ भाद्र २०७६ ०३:४१ सोमबार

पुरातत्व_विभाग स्थानीय_सरकार सम्पदा_सूची