समाज

एन्थ्रेक्सको जीवाणु नदेखिएपछि अरू परीक्षण

इटहरी – एक साताअघि कोसी टप्पु वन्य जन्तु आरक्षको मध्यवर्ती क्षेत्र सुनसरी बराह क्षेत्रको श्रीलंका टापुमा मरेका गाईगोरुमा ‘एन्थ्रेक्स’ जीवाणु देखिएको पुष्टि नभएपछि अरू परीक्षण गरिने भएको छ। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले त्यस्तो जीवाणु नदेखिएको पुष्टि गरेको हो। तर पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा भने एन्थे्रक्सको जीवाणु देखिएको थियो।

त्यसको पुष्टिका लागि केन्द्रमा परीक्षण गर्न रगत पठाइएको थियो। एन्थ्रेक्सको जीवाणु नदेखिएपछि थप परीक्षण गरी गाईगोरु मर्नुको कारण पत्ता लगाउनु जरुरी रहेको केन्द्रीय प्रयोगशालाकी डाक्टर प्रज्ञा कोइरालाले बताइन्। ‘हामीलाई रगतको नमुना मात्र पठाएकाले गर्दा त्यसको परीक्षणमा एन्थ्रेक्सको जीवाणु देखिएन। तर गाईगोरु मर्नुको कारण पत्ता लगाउन अरू पनि परीक्षण गर्नुपर्छ,’ डा. कोइरालाले नागरिकसँग शुक्रबार साँझ टेलिफोनमा भनिन्, ‘निगरानीमा भने बस्नुपर्छ।’ उनले फेरि पनि गाईगोरु मरे रगत परीक्षण गर्नुपर्ने र मरिसकेका गाई–गोरुको पनि रगतबाहेक अरू परीक्षण गरेर सतर्क रहनुपर्ने सुझाव दिइन्। ‘रगतमा मात्र एन्थ्रेक्स नदेखिएको हो,’ उनले भनिन्, ‘अब त्यहाँ कसरी सतर्क रहने र अरू के–के परीक्षण गर्ने भन्ने विषय सम्बन्धित निकायको हो।’

त्रिपुरेश्वरबाट एन्थ्रेक्सको जीवाणु नभेटिएको आधिकारिक रिपोर्टको चिठी प्रदेश र जिल्लालाई प्राप्त भइसकेको छैन। ‘अब आइतबारसम्म केन्द्रीय प्रयोगशालाको रिपोर्ट आधिकारिक रूपमा आइपुग्ला। त्यसपछि अरू थप के–के परीक्षण गर्ने र कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ,’ प्रदेश १ को पशुपन्छी रोग अन्वेषण कार्यालय विराटनगरका प्रमुख डाक्टर लेखराज दाहालले भने। उनका अनुसार एकै दिनमा धेरै संख्यामा गाई गोरु मरे पनि त्यसपछि मर्ने क्रम नदेखिएकाले अब के गर्ने भन्ने टुंगोमा पुगिसकिएको छैन। ‘अब गाईगोरु मर्नुको खास कारण पत्ता लगाउन केन्द्रित हुनेछौं,’ दाहालले भने, ‘अहिले पनि सतर्कताचाहिँ अपनाइरहेकै छौं।’ एन्थ्रेक्सको जीवाणु हावा, पानी र माटोबाट सर्ने डाक्टरको भनाइ छ।

कोसी टप्पु सप्तरी, उदयपुर र सुनसरी गरी १ सय ७५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ। आरक्षकै मध्यवर्ती क्षेत्र सप्तकोसीको पूर्वी तटबन्ध सुनसरी प्रकाशपुरबाट मुख्य भँगालो पार गरेर करिब तीन किलोमिटर पार गरेपछि पुगिने बराह क्षेत्र–६ र ९ मा पर्ने बस्ती श्रीलंका टापु क्षेत्रमा अघिल्लो बिहीबार बिहान गाई–गोरु मृत भेटिएका थिए। मरेका गाई–गोरुको नाक, मुख, कान, आँखा र पछाडिको मलद्वारबाट रगत निस्किएको थियो। मरेका गाईगोरुलाई तत्काल खाल्डो खनेर नष्ट गरिएको थियो। एन्थ्रेक्स नै भएको भए पोस्टमार्टम गर्दा खतरा हुने हुँदा तत्काल नष्ट गरिएको थियो।

प्रकाशित: ३२ श्रावण २०७६ ०१:३२ शनिबार

एन्थ्रेक्स परीक्षण जीवाणु