समाज

शाखा सडकले कर्णाली राजमार्ग असुरक्षित

शाखा सडकका कारण खसेकाे पहिराे। तस्बिरः डिबी/नागरिक

जुम्ला- स्थानीय सरकारले निर्माण गरेका ग्रामीण सडकले कर्णाली राजमार्ग अस्तव्यस्त छ। राजमार्गसँग जाेडिएका सबै स्थानीय तहले ग्रामीण सडक खन्दा ध्यान पु-याउन सकेका छैनन्। जता राजमार्गकाे सडक साँघुरा छन्, उतैबाट शाखा सडक खनिएका छन्। जसका कारण राजमार्गको कालाेपत्रे उप्किएकाे छ। सडकमा जाेखिम बढेकाे छ।

सामान्य वर्षा हुने बित्तिकै पहिराे र भू-क्षयकाे जाेखिम बढ्ने गरेकाे स्थानीय बताउँछन्। जुम्लादेखि कामकाे सिलसिलमा सुर्खेत झरेका शेरबहादुर बाेहाेराले भने, 'ग्रामीण सडकले राजमार्ग धरापजस्तै बनाइसकेका छन्। यात्रुलाई सास्ती पाउने खण्डनै स्थानीय सरकारले बनाएका सडक खण्ड हुन्।' उनले शेराबाडा नजिकै गएकाे पहिराेले चार घण्टा राेकिनु परेकाे गुनासाे गरे।

सडकमा जथाभाबी डाेजर लगाउँदा जमिनमा हलचल भएकाे र वर्षा हुने बित्तिकै पहिराे खस्ने गरेकाे छ। सबैभन्दा ग्रामीण सडकका कारण कालीकाेट खण्डमा बढी सडक बिग्रेको छ। उनले भने, 'संघीय सरकारले हस्तान्तरण नगरेकाे भन्दै प्रदेश सरकारले रकम हाल्न मान्दैन। संघीय सरकारले कर्णालीकाे ब्यथा सुन्दैन। स्थानीय सरकारले विकासका नाममा विनाश निम्त्याउन थालेकाे छ। त्यसकाे प्रत्यक्ष मार यात्रुले खेपिरहेका छन्।'

जुम्ला खण्डकाे तिला, तातोपानी र चन्दननाथमा स्थानीय सडकले सडकमा अवराेध सिर्जना गरेका छन्। सडक खन्दा थुपारिएकाे माटाे राम्राे शीत पन्छाइएकाे छैन, जसले सडक साँघुराे छ। पिच सडक बिग्रेका छन्। वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन्।

स्थानीय सरकारले सडक खनेकाे स्थानमा याे समयमा निकै सकस हुन्छ। दैनिक दुईदेखि चार घण्टासम्म बाटाेमा राेकिनु परेकाे यात्रु बताउँछन्, जसले गर्दा अधिकांश यात्रु अलपत्र पर्छन्।

समयमै गन्तव्यमा पुग्न सक्दैनन्। जिल्ला प्रशासन कार्यालय कालीकाेट याे समयमा दैनिकजसाे सानाेतिनाे पहिराे झरेर दुःख दिने गरेकाे बताउँछ। तर, पहिराे सम्भावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिरहेकाे दाबी गरिरहेकाे छ। यात्रुले पहिराे जाने स्थानमा सरकारले प्रकृतिअनुसार डाेजर एक्साभेटर राख्नुपर्ने माग गरिरहेका छन्। निजी डाेजरले घण्टाका हिसाबले काम गर्ने भएकाले ढिलासुस्ती हुने गरेकाे दुखेसो पाेख्छन्।

कतिपय स्थानमा चालकले रकम उठाएर सडक खुलाउनुपर्ने बाध्यता छ। स्थानीय सरकारले बनाएकाे सडकबाट पहिराे त खसेकाे छ, त्यसमा ढुंगा खसेर यात्रामा अवरोध गर्ने गरेकाे छ। याे वर्ष ठूला दुई पहिराे जाँदा झण्डै दुई हप्ता सडक बन्द भएकाे थियाे।

सडक अस्तव्यस्त भएकाले जुम्ला-कालीकोटमा उत्पादित स्याउ ल्याउन सकस भइरहेकाे व्यापारी बताउँछन्। जुम्लादेखि सुर्खेतसम्म दुई सय ३२ किलोमिटर सडकमा यात्रा निकै जाेखिमपूर्ण हुन्छ। पहुँचवाला, सम्पन्नशाली व्यक्ति जहाजबाटै यात्रा गर्छन्। कर्णाली सडकमा यात्रा गर्ने सर्वसाधारण नै चपेटामा छन्।

प्रकाशित: ३१ श्रावण २०७६ ०८:४९ शुक्रबार

शाखा_सडक कर्णाली_राजमार्ग असुरक्षित