समाज

जुँगुका पहिरो पीडितलाई कांग्रेसको राहत

दोलखाको गौरीशंकर गाउँपालिकाको जुँगुका पहिरो पिडितलाई नगद राहत हस्तान्तरण गर्दै दोलखा कांग्रेसका नेताहरु। तस्विर: रमेश/नागरिक

(जुँगु)दोलखा - १३ दिन अघि दोलखाको गौरीशंकर गाउँपालिका २ जुँगुमा गएको पहिरोका पीडितहरुलाई राहत बोकेर दोलखा कांग्रेस मंगलबार प्रभावित क्षेत्र पुगेको छ। मंगलबार नेपाली कांग्रेस गौरीशंकर गाउँपालिका कार्य समितिको अगुवाईमा जिल्ला स्तरिय नेताहरुले जुँगु पुगेर राहत वितरण गरे।

  कांग्रेसका जिल्ला सभापति रुद्र खड्का र गाउँपालिका समिति सभापति श्याम सुन्दर लामाले पहिरोमा परी वेपत्ता भएका निशान खड्का र जगतबहादुर खत्रीको परिवारलाई १५ हजारका दरले नगद राहत हस्तान्तरण गरे।  यस्तै पहिरोमा घर भत्किएका १३ जनाको परिवारलाई ५ हजार र जोखिमका कारण बिस्थापित भएकाहरुको परिवारलाई १ हजार देखी ३ हजार सम्म नगद हस्तान्तरण गरिएको गाउँपालिका कार्य समितिका सभापति तामाङले जानकारी दिए।  पहिरो पीडितहरुलाई  १ लाख ४२ हजार रुपैंया नगद र ८ ओटा त्रिपाल वितरण गरिएको तामाङले बताए। 

पहिरो लगतै अवरुद्ध सडकहरु खुलाउन कांग्रेसका समानुपातिक सांसद जिपछिरिङ लामाले ४० घण्टा सम्म चलाएको डोजर र ईन्धन दुवै जुँगु गाउँको सहयोगका निम्ती निशुल्क गरिएको घोषणा जिल्ला सभापति खड्काले गरे।  राहत बाड्न खड्का संगै जिल्ला नेताहरु बर्मा लामा, भवेन्द्र कार्की , जिल्ला सचिव सन्तोष रिमाल, वैत्येश्वर गाउँपालिकाका पार्टी सभापति राजु उप्रती, क्षेत्रीय सभापति जयराम श्रेष्ठ लगायत जुँगु पुगेका थिए।

पहिरो क्षेत्र घुमेर फर्केका जिल्ला सभापति खड्काले पहिरो रोकथामका लागी बिशेष कार्यक्रम ल्याउन र पिडितहरुलाई नयाँ घर बनाएर तुरुन्त सार्नका निम्ती प्रदेश र संघ सरकार संग आग्रह गरे।  यस अघि गत साता जिल्लाका प्रत्यक्ष निर्वाचित सांसद पार्वत गुरुङ, पूर्व मन्त्री आनन्द पोखरेल,  प्रदेश सभाका सांसदहरु पशुपति चौलागाई सहित जुँगु पुगेर राहत वितरण गरी फर्केका थिए।

छिमेकी गाउँपालिका वैत्येश्वर, जिरी लगायतले समेत राहत र सहयोग गरेको छ।  गौरीशंकर गाउँपालिकाले मृतकको परिवारलाई ७५ हजार र बिस्थापितहरुलाई नगद सहयोग गर्ने घोषणा गरेको छ।  मंगलबार नै जिल्ला सहकारी संघले जिल्ला भरका सहकारीहरुको तर्फबाट राहत वितरण गरेको छ। 

प्रकाशित: ३० श्रावण २०७६ ०१:२६ बिहीबार

कांग्रेस पहिराेपीडित राहत