धादिङ - रुविभ्याली गाउँपालिका–१ लब्दुङका ५१ वर्षीय न्य थापा तामाङ एकसाता अघि बिरामी भएर ढले। पेट दुखेर छटपटाइरहेका उनलाई छिमेकीले स्थानीय क्लिनिकमा लगे। स्वास्थ्यकर्मीले दुखाइ कम गराउन स्लाइन पानी दिए तर दुखाइ कम भएन। पेट दुखाइ झनै बढेपछि छिमेकीको सहारामा काठमाडौंबाट हेलिकोप्टर मगाइयो र उपचारका लागि सुविधासम्पन्न अस्पताल पु-याइयो।
उनको आन्द्रामा प्वाल परेको रहेछ। उपचारका क्रममा अहिले उनी शल्यक्रियापछिको फलोअपका लागि काठमाडौंमै छन्। चिकित्सकका अनुसार अस्पताल पु-याउन अझै केही समय ढिलो भएको भए ज्यानै जान सक्ने अवस्था थियो।
धादिङको उत्तरी क्षेत्रमा बस्ने धेरैको आर्थिक अवस्था कमजोर भएको तथा भौगोलिक विकटताका कारण समयमा उपचार सम्भव छैन। गम्भीर प्रकृतिको स्वास्थ्य समस्या देखिए उपचारका लागि हेलिकोप्टरकै सहारा लिनुपर्ने लब्दुङका मिनेस तामाङले बताए। ‘गाउँघरमा क्लिनिक छ तर दुखाइ कम गर्ने औषधिबाहेक अन्य उपचार सम्भव छैन,’ उनले भने, ‘बिरामीको ज्यान जोगाउन हेलिकोप्टरको सहारा लिनुपर्छ। ’ हेलिकोप्टरले एकजना बिरामी बोकेबापत कम्तीमा एक लाख २० हजार रुपैयाँ लिन्छ।
हेलिकोप्टरले उत्तरी धादिङबाट काठमाडौंसम्म बिरामी बोकेको एक लाख २० हजार रुपैयाँ लिन्छ। सबैको आर्थिक अवस्था राम्रो हुँदैन। उपचारमा ढिलाइ हुँदा यस वर्षमात्रै दुईजनाको मृत्यु भयो।
संघीय सरकारले गाउँगाउँमा सिंहदरबार भनेर नारा लगाए पनि रुविभ्यालीका स्थानीयले भने गाउँमा सिंहदरबारको अनुभूति गर्न पाएका छैनन्। बिरामी हुँदा सुत्केरी तथा गर्भवती हुँदा हेलिकोप्टरकै सहारा खोज्दै आइरहेको मिनेसले बताए। ‘हेलिकोप्टरले उत्तरी धादिङबाट काठमाडौंसम्म बिरामी बोकेकोमात्रै एकतर्फी झन्डै डेढ लाख जति खर्च हुन्छ,’ उनले भने, ‘सबैको आर्थिक अवस्था राम्रो हुँदैन, कमजोरलाई गाउँले मिलेर सहयोग गर्छाैं। ’ उपचारमा ढिलाइ हुँदा यस वर्षमात्रै दुईजनाको मृत्यु भएको उनले बताए।
रुविभ्याली गाउँपालिका–२ ठूलो गाउँका ५० वर्षीय फुर्वा तामाङले पनि गत बुधबार सिकिस्त बिरामी परेपछि हेलिकोप्टरकै सहारा लिुनप-यो। उनका छिमेकी रामबहादुर तामाङका अनुसार फुर्वा पेट दुख्यो भन्दै अकस्मात ढलेपछि गाउँलेहरू मिलेर काठमाडौंबाट हेलिकोप्टर बोलाए। ‘छिमेकी मिलेर पैसा उठायौं र एक लाख २० हजारमा हेलिकोप्टर बोलाएर उपचारका लागि पठायौं,’ उनले भने, ‘पैसाभन्दा मान्छेको ज्यान ठूलो हो त्यसैले जति भन्यो त्यति तिर्न बाध्य छौं। ’
अघिल्लो आर्थिक वर्षमा मात्रै उत्तरी धादिङका विभिन्न ठाउँबाट १७/१८ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको उनले बताए। ‘एकातिर बिरामीको अवस्था नाजुक हुन्छ,’ उनले भने, ‘अर्कोतिर सिकिस्त बिरामी भएर हेलिकोप्टर बोलाउन एक लाख २० हजार नभए हेलिकोप्टर पनि गाउँमा आउनै मान्दैन। सिकिस्त बिरामी भएकालाई उपचारका लागि हेलिकोप्टर नबोलाए ज्यानै जाने खतरा हुन्छ। ’
राजधानी काठमाडौंसँग जोडिएको जिल्ला धादिङ दक्षिणमा पृथ्वी राजमार्गको सुलभ पहुँच भए पनि उत्तरमा चीनसँग सीमा जोडिएका थुप्रै विकट गाउँबस्ती छन्। राजधानीसँगै जोडिएको भएर धादिङ सुगम जिल्ला हो भन्ने धेरैको अड्कल हुन्छ तर बाहिरबाट हेर्दा जति सुगमजस्तो लाग्छ भित्री यथार्थ त्योभन्दा धेरै फरक छ। धादिङ जिल्लाको राजमार्ग क्षेत्र र सदरमुकाम सेरोफेरोबाहेक अन्यत्र कालोपत्रे सडक छैन। उत्तर रुविभ्यालीको लापा र सेर्तुङसम्म अझै सडक सञ्जाल पुग्न सकेको छैन भने अन्य ठाउँमा खोलिएका सडकका ट्र्याक पनि मापदण्डअनुसार बनाइएका छैनन्।
उत्तरी भेगमा जान छिमेकी दुई जिल्ला नुवाकोट र रसुवा हुँदै जानुपर्छ। सदरमुकाम धादिङबेसीदेखि करिब दुई दिनको यात्रापछि मात्र उत्तरी धादिङका ठाउँहरूमा पुग्न सकिन्छ। गाउँमा खोलिएका विद्यालयमा प्राथमिक कक्षा पूरा भएपछि बाँकी पढाइ त्यस क्षेत्रका विद्यार्थीका लागि परको विषय हो। सामान्य उपचार सेवा लिन पनि कठिन हुने गर्छ। सुत्केरी, गर्भवतीको उपचारका लागि हेलिकोप्टरकै भर पर्नुपर्छ।
सरकारले हाल दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गर्ने कार्यक्रम ल्याएको छ, जसमा धादिङको रुविभ्याली गाउँपालिकासहित ३४ जिल्ला परेका छन्। सो कार्यक्रमअन्तर्गत धादिङका केही ठाउँबाट सुत्केरीको निःशुल्क उद्धार गरिएको पनि छ तर सबै रोग तथा क्षेत्रसम्म कार्यक्रमको पहुँच छैन। आर्थिक अवस्था कमजोर भएका, भौगोलिक विकटता भएका ठाउँका अन्य बिरामीहरूका हकमा पनि निशुल्क उपचारका लागि हवाई उद्धार गर्ने व्यवस्था मिलाइदिन स्थानीयले आग्रह गरेका छन्।
प्रकाशित: ३० श्रावण २०७६ ००:५१ बिहीबार